एमसीसीको म्याद थप्न सरकारले लेख्यो पत्र

एमसीसीको म्याद थप्न सरकारले लेख्यो पत्र

काठमाडौं ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता संसद्बाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि सरकारले मिति थप गर्न आग्रह गरेको छ ।

अर्थ मन्त्रालयले असार १५ गते सोमबार अमेरिकास्थित एमसीसी कार्यालयलाई पत्र लेख्दै कार्यान्वयनमा जाने समय थपबारे छलफल गर्न आग्रह गरेको हो ।

अर्थ सचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेको पत्रमा कोभिड–१९ महामारीका कारण पूर्वतयारी गर्न नसकिएको भन्दै पत्राचार गरिएको स्रोतको दाबी छ । ‘कोभिड–१९ का कारण केही महिना म्याद थप गर्नका लागि छलफल गर्न प्रस्ताव गरिएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।

एमसीसीलाई पठाएको पत्रमा संसद्बाट अनुमोदनको विषय उल्लेख गरिएको छैन । कोभिड–१९ का कारण काम प्रभावित भएकाले कार्यान्वयनमा जाने मिति थप गर्ने विषयमा छलफलका लागि आग्रह मात्रै गरिएको स्रोतको दाबी छ । यसबारे अर्थ मन्त्रालयले औपचारिक प्रतिक्रिया भने दिन चाहेको छैन ।

परराष्ट्र मन्त्रालयले पत्राचारको काम अर्थ मन्त्रालयको वैदेशिक महाशाखाले गर्न सक्ने र उसैलाई आधिकारिक जानकारी हुने प्रतिक्रिया दिएको छ ।२०१७ सेप्टेम्बरमा नेपालले एमसीसीसँग करिब ५५ अर्ब अनुदानका लागि सम्झौता गरेपछि त्यसलाई संसद्बाट अनुमोदन गर्नुपर्ने प्रक्रिया र सर्त अघि बढाएको थियो ।

तर, एमसीसी कार्यान्वयनमा जाने समय नजिकिँदै गर्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र सम्झौतामा भएको प्रावधानका विषयमा विवाद सुरु भएको थियो । सत्तारूढ दलभित्रको किचलोका कारण कार्यान्वयनमा जानुअघि संसद्बाट अनुमोदन हुनुपर्ने एमसीसीको सर्त पूरा भएको छैन ।

सभामुख अग्नि सापकोटाले असार १० गते संसद्को बजेट अधिवेशन १७ गतेसम्मका लागि स्थगित गर्ने घोषणा गरेपछि असार १६ गतेभित्र एमसीसी संसद्बाट अनुमोदन हुने सम्भावना टुंगिएको थियो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले संसद्को बजेट अधिवेशन स्थगित गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारै स्वीकृत गरेपछि हिउँदे अधिवेशन सुरु नहुन्जेल एमसीसी पास हुने सम्भावना पनि टरेको छ ।

सभामुख सापकोटाले संसद् स्थगित गरेको दिनै एमसीसी अनुमोदन र कार्यान्वयनका विषयमा अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच फोन वार्ता भएको थियो ।

अर्थमन्त्री युवराज खतिवडाले नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीसहित नेपालका लागि एमसीसीका आवासीय निर्देशक ट्रोय कोफरोथसँग म्याद थपका लागि छलफल गरेका थिए ।

एमसीसीअन्तर्गतका परियोजना कार्यान्वयनमा जानुअघि भारतसँगको अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा सञ्चालन मोडालिटीमा सहमति हुनुपर्ने, प्रसारण लाइन निर्माण स्थलमा पहुँच तथा मुआब्जा वितरण भइसक्नुपर्ने, विद्युत् नियमन आयोग गठन गर्नुपर्ने, परियोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्ने पूर्वसर्त छ ।

कार्यान्वयनमा जानुअघि यी पूर्वसर्त पूरा भएको सूचना सरकारले एमसीए नेपाललाई दिनुपर्ने हुन्छ । हालसम्म राष्ट्रिय गौरवको आयोजना घोषणा, आयोग गठन, भारतसँगको सहमतिजस्ता परियोजना पूरा भइसकेको छ भने प्रसारण लाइन निर्माणस्थलमा जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम भइरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij