काठमाडौ । मुलुकमा राजनीतिक स्थिरता र संविधानको कार्यन्वयनसँगै मुलुकभित्र लगानीका अवसरहरू बढ्दै गएका छन् । लगानीको पर्याप्त सम्भावना रहेका पर्यटन, जलविद्युत र कृषि क्षेत्रमध्ये पर्यटन र जलविद्युत क्षेत्रमा लगानी बढेको छ ।
८ वर्ष अघिदेखि वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य सन् २०१७ मा लगभग पूरा भयो । अहिले नेपालमा १६ लाख पर्यटक बस्नको लागि पुग्ने गरी होटलहरू खुलेका छन् ।
प्रदेश अनुसार तारे होटल खोल्नको लागि लगानीकर्ताहरू लागि परेका छन् । काठमाडैंमा मात्रै अबको ५ वर्षमा ४५ सय बेडरुमका होटल खुल्दैछन् । राज्यले पूर्वधार क्षेत्रमा लगानी गर्न सक्दा आगामी पाँच वर्षमा २० लाख पर्यटक राख्न सक्ने गरी होटल विस्तार गर्न सकिने बताउँछन् होटल संघ नेपाल हानका महासचिव विनायक शाह ।
उर्जा क्षेत्रले पनि यसै गरी फड्को मारेको छ । अहिले देशभरका नदीहरूमा १०० भन्दा बढी साना–ठूला परियोजना बनिरहेका छन् । केही वर्षभित्रै थप ३००० मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुनेछ ।
सरकारी र निजी क्षेत्रका आयोजनाबाट १०० मेगावाटभन्दा बढी विद्युत् थपिंदैछ । डेढ वर्ष भित्रै १००० मेघावाट विद्युत् उत्पादन थपिने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाई बताउँछन् ।
विद्युत् उत्पादनको १०७ वर्षमा जम्माजम्मी ९५० मेगावाट मात्र विद्युत् उत्पादन भएको मुलुकमा एकैपटक यति ठूलो परिमाणमा परियोजना निर्माण हुन थालेका हुन् ।
गतहप्ता मात्रै ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले परीक्षण विद्युत् उत्पादन थालेको छ ।
निजी क्षेत्रका अन्य करीब ४०० मेगावाटका परियोजना सम्पन्न हुँदा १८०० मेगावाटको हाराहारीमा विद्युत् क्षमता पुग्नेछ । अन्य थुप्रै आयोजनाको पनि अध्ययन भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
कृषिमा अपेक्षित विकास हुन नसकेता पनि कृषि व्यवसायीकरणमा समेत स्वदेशी लगानी कर्ताले ठूलो लगानी गर्दैछन् ।
तर देश संघीयतामा गएको छ र अहिले कार्यन्वयनको चरणमा छ । विज्ञहरूले संघीयता विकासको ढोका भएको समेत प्रतिक्रिया दिएका छन् ।
तर अहिले संघीयता अवसर वा चुनौती यसको बहस सकिएको छैन । जबकि संघीयता कार्यन्वनयमा आइसकेको छ ।
गाउँ, नगर, उपमहानगर र महानगर सरकारका साथै केही प्रदेशमा प्रदेश सरकार पनि गठन भएको छ । अब संघीयता कार्यन्वयनसँगै यसबाट उठाउन सकिने र दिन सकिने फाइदा कसरी दिने भन्ने विषय कार्यान्वन गर्ने समय हो ।
खासगरी वित्तीय संघीयताको पाटोको चर्चा गरेर देशले धान्न नसकिने विषयमा विज्ञ तथा सरोकारवालाहरू चिन्तित भएको प्रतिक्रिया दिएका छन् । तर संघीयताका चुनौती भन्दा अवसर बढी छन् ।
एक प्रकारको प्रशासनिक खर्त बढ्ने देखिएता पनि प्रत्यक्ष जनताको खर्च भने घट्ने नै देखिन्छ । फरक फरक अस्तित्व रहेका भिन्न भिन्न प्रदेशको एकै पटक समृद्धिमा केन्द्रित गर्न पनी संघीयता सफल हुने विज्ञहरूको बुझाई छ ।
स्थानीय, प्रदेश तथा संघका जनप्रतिनिधिले जनताको सेवा र देशको समृद्धिको लागि राजनीति गरेको भन्ने विषय महशुस गरे भने संघीयताबाट देश समृद्धिको बाटोमा अघि बढ्ने विज्ञहरू बताउँछन् ।
पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा.रामशरण महत संघीयताको वित्तीय व्यवस्थापन चूनौतिपूर्ण रहेता पनि व्यवस्थापन गर्दा राम्रो हुने प्रतिक्रिया दिन्छन् । ’हामीले सरकारले बोहोर्ने खर्च धेरै गराइसकेका छौं यो हाम्रो लागि चुनौतीपूर्ण हो, तर तिनै तहका सरकारहरू सस्तो लोकप्रियताको पछि नलागेर सुझबुझ्का साथ काम गर्दा थुप्रै अवसरहरू छन्’ महतले भने ।
संघीयताको वित्तीय पाटो चुनौतीपूर्ण देख्ने पूर्वगभर्नर युवराज खतिवडा समेत संघीयताका धेरै सरकरात्मक पक्ष रहेको प्रतिक्रिया दिन्छन् । तर, उनको भनाई पनि उस्तै छ संघीयताका कार्यन्वयनका क्रममा सुझबुझ पूर्णनिर्णय गर्नु पर्ने बताउँछन् ।
तर केही समय भने समस्या निम्तन पनि सक्ने खतिवडा बताउँछन् । ’संवैधानिक संक्रमण ट¥यो तर कानुनी, प्रशासनिक र संरचनात्मक संक्रमण बाँकी छ, त्यसलाई एक वर्षभित्रमा अन्त्य गर्नुपर्छ’ खतिवडाले भने ।
संघीयताविद् खिमलाल देवकोटा संघीयताका चुनौती देखार जनता निसार गर्न नहुने बताउँछन् । संघीयता तै अवसर नै अवसरको व्वस्था हो, केही चुनौती हुन्छन् सम्बन्धित पक्षले केलाउने हो तर बर्बाद भयो भने जसरी व्याख्या गर्ने हैन देवकोटाले भने । उनले संघीयतामा प्राशासनिक खर्च बढेता पनि सेवाको उपभोगमा जनताको खर्त भने घट्ने प्रतिक्रिया दिए ।
कसरी हुन्छ सेवा सस्तो ?
संघीयताकै कारण सर्वसाधरणको ढुवानी खर्च, होटल खर्च तथा बसोवास खर्चमा कमी आउनुका साथै समयको बचतमा सहयोग पुग्ने बताउँछन् । अहिले पनि कतिपय स्थानीय तहमा बाटो पुगेको छैन ।
नागरिकता बनाउन सदरमुकाम जानको लागि दुई दिनको समय लाग्छ । गाडीमा हजार रुपैयाँ तिरेर जानु पर्ने थियो भने त्यही कामको लागि पैसा तिर्नु पर्दैन र होटलमा तिर्ने पैसा पनि तपाईको बचत हुन्छ । यो स्थानीय सरकारलाई दिएको अधिकारबाट सेवा वापत तिर्नु पर्ने खर्च घटेको हो ।
संघीयताले शिक्षा, स्वास्थ्य, ग्रामीण विकासका कार्यक्रमहरू, एफएम रेडियो, साना जलविद्युत, सहकारीलगायतका काम गर्ने अधिकार तल्लो तहमा गएको हो । यसको अर्थ गुनासो गर्ने र जनताले तत्काल सेवा पाउने अवस्था अब तल्लो तहमा पुगेको छ । सघीयताविद् खिमलाख देवकोटा प्रश्न गर्छन् । ’संघीयता भनियो, स्थानीय तह भनियो, जनताले के पाउँछन् भन्ने पनि प्रश्न उठे तर यी चिज त जनताले तल्लो तहमा पाएका छन् यो के त? ।
अहिले सिंहदरबाको ६० प्रतिशत अधिकार तथा जिम्मेवारी तलो तहमा पुगेको छ । यसको कारण पनि सेवा सस्तो हुनेछ । ५ सयको कर तिर्नको लागि ५ हजार खर्च गर्नुपर्ने अवस्था पनि अन्त्य हुनु नै संघीयताको राम्रो पक्ष भएको बताउँछन् विज्ञहरू ।
संघीयता समृद्धिको ढोका
पूर्वअर्थसचिव रामेश्वर खनाल संघीयता समृद्धिको ढोका भएको बताउँछन् । ‘मलाई संघीयता समृद्धिको ढोका जस्तो लाग्छ सबैलाई आफ्नोमा केही गरौं कसरी सफल भन्ने नै हुन्छ यसले देश समृद्ध बनाउन सहयोग पुग्छ ।
‘आफ्नो परिवारभित्रको उदहरण दिँदै खनाल भन्छन् ’हाम्रा बुबाहरू पाँच भाइ हुनुहुन्छ, एउटा हजुर बुबा छातामुनि बस्दा हामी जति समृद्ध थियौं, पाँचवटा छानामुनि भएपछि त्यहाँभन्दा धेरै समृद्ध भयौं, त्यस्तै हो संघीयता ।’
संघीयताविद् खिमलाल देवकोटाले पनि संघीयता समृद्धिको आधार भएको बताउँछन् । ’आफ्नो गाउँ आफै बनाऊँ अभियान जस्तै सबैले आफैमा आत्मनिर्भर भएर अघि बढ्ने गरी योजना ल्याउन थालेका छन् ।
आफ्नो क्षेत्रमा कहाँ लगानी आउँछ अध्ययन भइरहेको छ, आफूले उठाएको पैसा आफै खर्च गर्ने हो भन्ने धारणा पनि पलाएको छ, त्यसैले संघीयता समृद्धिको आधार हो’ देवकोटाले भने ।
सबै प्रदेशका आआफ्नै सम्भावना रहेका छन् ।
आफ्नै मौलिकता रहेका छन् । पर्यटन, कृषि, जलविद्युत तथा जडीबुटी लगानी तान्नलाई सातवटै प्रदेशमा आधारहरू रहेका छन् । त्यसैले पनि विज्ञहरूले समृद्ध मुलुकको लागि संघीयता ढोका भएको प्रतिक्रिया दिएको बुझिन्छ ।
कुन प्रदेश कस्तो ?
प्रदेश १
औद्योगिक नगरिको रूपमा चिनिने विराटनगर समेटिएको प्रदेश १ सगरमाथा र कञ्चनजङ्घा जस्ता हिमशिखरहरू रहेको किरात धर्मावलम्बीहरूको ऐतिहासिक थातथलो रहेको कारण प्राकृतिक तथा धार्मिक पर्यटनको राम्रो सम्भावना देखिन्छ ।
धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण मानिने पाथिभरा माई, पवित्र वराह क्षेत्र, हलेसी महादेव, दन्तकाली र बुढासुब्बाको मन्दिर तथा प्रख्यात किरात धर्मगुरु सिरिजङ्गा तथा महागुरु फाल्गुनन्दको जन्मस्थल यही प्रदेशमा रहेका छन् । यसले गर्दा पर्यटन क्षेत्र र ओद्योगिक विकासमा यो प्रदेशको सम्भावना बलियो देखिन्छ ।
जलविद्युत् विकासका दृष्टिले महत्वपूर्ण कावेली करीडोर, माइखोला, तमोर नदी यो प्रदेशमा रहेका छन् । कृषिमा अलैंची, चिया लगायतका नगदे बालीको लागि यो क्षेत्र उपयोगी छ ।
प्रदेश २
धार्मिक पर्यटकको हिसाबले महत्वपूर्ण स्थलहरू रहेका प्रदेश दुईमा सबैभन्दा बढी कृषि उपयोगी जग्गा रहेको छ ।
धार्मिक दृष्टिले महत्वपूर्ण स्थल जनकपुर, सिमरौनगढ र राजविराज जस्ता ऐतिहासिक क्षेत्र तथा विरगञ्ज र सिमरा जस्ता औद्योगिक सहरहरू यो क्षेत्रमा रहेका छन् । औद्योगिक पूर्वधार पनि विसकास हुँदै गएको छ ।
यो प्रदेशको मानव विकास सूचकांकमा पछि परेको यो प्रदेशमा गरिबीको समस्या बढी रहेता पनि सम्भावना अधिक छ ।
मुलुककै प्रमुख कृषि उत्पादक रहेको यो प्रदेश अहिले कृषिजन्य उद्योगको प्रमुख प्रदेश बन्न सक्ने सम्भावना राख्दछ । समथर जमीन भएकोले सडक विस्तार गर्न सजिलो छ र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल, रेलमार्ग र द्रूत मार्गले पनि यस प्रदेशलाई छुन्छन् ।
प्रदेश ३
प्राचीन नेपाली सभ्यताको पर्यायवाची जस्तै मानिने नेवारी सभ्यताको केन्द्रविन्दु रहेको काठमाडौं उपत्यका सामाजिक क्षेत्रमा पूर्वाधार विकासको हिसाबले सबैभन्दा अघि रहेको यो प्रदेशमा पर्यटन सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्र हो ।
मुलुकका प्रथम अस्पताल, विश्वविद्यालय समेत रहेको यो प्रदेसँग मुलुकका पर्यटकहरू जाने प्रमुख चार स्थलहरूमध्ये दुई (काठमाण्डु र चितवन) यस प्रदेशमा पर्छन् ।
शिक्षा, स्वास्थ्य, जलविद्युत् र पर्यटनमा सम्भावना बलियो देखिन्छ । हेटौंडा, बालाजु तथा पाटन औद्योगिक क्षेत्र रहेको यस प्रदेशलाई लगानी भित्राउन सहज छ । धादिङ, सिन्धुपाल्चोक र दोलखा जिल्लामा जलविद्युत् आयोजनाहरू अहिले नै धेरै छन् ।
गण्डकी प्रदेश
प्रतिव्यक्ति आय र साक्षरतामा सबैभन्दा बढी सभावना रहेको यो प्रदेशको पर्यटन र जलविद्युत मुख्य सभावनाको क्षेत्रको । पर्यटकीय नगरी पोखरा रहेको प्रदेशमा मुलुककै सबैभन्दा बढी जलाशययुक्त आयोजना रहेको बुढीगण्डकी आयोजना पनि छ ।
प्रस्तावित बुढीगण्डकी योजनादेखि मस्र्याङ्दी जलविद्युत् योजनासम्म यही प्रदेशमा पर्छन् । पोखरा, मुस्ताङ, बन्दीपुर, मनाङ जस्ता पर्यटकीय क्षेत्रहरू पनि यही प्रदेशमा पर्ने भएकोले पर्यटन र जलबुत क्षेत्र यो प्रदेशका मुख्य विकास आधार हुन् ।
संसारको सबैभन्दा गहिरो गल्छी (कालीगण्डकी), धार्मिक पर्यटनकालागि प्रख्यात देवघाट, मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड जस्ता स्थानहरू छन् यसले पनि धार्मिक पर्यटकलाई आकर्षण गर्छ ।
प्रदेश ५
एशियाकै धार्मिक पर्यटकको महत्वपूर्ण गन्तव्यको रूपमा हेरिएको भगवान बुद्धको जन्मस्थल लुम्बिनी र महाभारतकालीन महत्वपूर्णस्थल स्वर्गद्वारी भएको क्षेत्र हो प्रदेश नम्बर ५ ।
कृषि र पर्यटन आर्थिक विकासको आधार रहेको यो प्रदेशमा बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज भएको, पुराना बलिया राज्यहरू पाल्पा र गुल्मीदेखि नयाँ मुलुकका बाँके र बर्दियासम्म समेटिएको, समथर तराईदेखि लगभग हिमालसम्म फैलिएको प्रदेश ५ वातावरणीय र सामाजिक रूपमा अत्यन्त विविधता भएको एक महत्वपूर्ण क्षेत्र हो । यसमा पर्यटन क्षेत्रले फड्को मार्न सक्छ ।
नेपालगञ्ज र भैरहवा जस्ता सहरहरू आर्थिक दृष्टिले पनि महत्वपूर्ण क्षेत्र मानिन्छ । पर्यटनका अलावा रूपन्देही, दाङ, बाँके र बर्दिया जस्ता तराइका जिल्लाहरूमा कृषिको प्रचूर सम्भावना छ । कृषि लगानीको लागि प्रदेश दुईपछिको उपयुक्त स्थान प्रदेश ५ लाई लिने गरिएको छ ।
यस प्रदेशमा रहेको पहाडमा पनि कफी खेती र जडीबुटीको धेरै सम्भावना छ । मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा सेज पनि यही प्रदेशमा रहेको छ । औद्योगिक विकासले पनि यो प्रदेश अगाडि छ भने सम्भावना उत्तिकै छ । भन्सार नाकासमेत जोडिएको यो प्रदेशको राजश्व सङ्कलनमा १०.२३ प्रतिशत हिस्सा रहेको छ ।
कर्णाली प्रदेश
आन्तरिक तथा वाह्य पर्यटकको लागि आकर्षक गन्तव्य मानिने रारा क्षेत्र रहेको यो प्रदेशको मुख्य सम्भावना पर्यटन क्षेत्र हो ।
सुर्खेतको कांक्रेविहार होस् वा मुगुको रारा तालको आकर्षण—यस प्रदेशले आफ्ना सम्भावनाको तुलनामा कम पर्यटकीय लाभ उठाएको र थप उठाउनको लागि पर्याप्त लगानीका सम्भावना रहेका छन् ।
हिमाली भेगका डोल्पा र हुम्ला जिल्लाहरूले जडीबुटी र पर्यटनको अपार सम्भावना बोकेका छन् ।
भाषा संस्कृतिको हिसाबले नेपालमा खस सभ्यताको उद्गमस्थल जुम्ला तथा दुल्लु जस्ता स्थलहरूले आन्तरिक पर्यटनलाई आकर्षित गर्न सक्छन् । जलविद्युतको क्षेत्रमा नलसिङगाड जलविद्युत् आयोजना भएको जाजरकोटको विकासको निकै सम्भावना छ ।
सुदुरपश्चिम प्रदेश
लामो समयसम्म सडक सञ्जालको अभावमा मुलुकको देशको राजधानीबाट धेरै टाढा मानिने यो प्रदेशमा तराईको समथर जमीनदेखि हिमालसम्म फैलिएको शुक्लाफाँटा जस्तो राष्ट्रिय निकञ्ज भएको, खप्तड जस्तो पावन क्षेत्र रहेका छन् ।
प्रदेश ६ र ७ जडीबुटीमा समृद्ध छ भने प्रदेश ७ को आधाभन्दा बढी (अर्थात् ५१ प्रतिशत) भूभाग वनजंगलले ढाकेकोले जडीबुटी तथा वनजन्य उद्योगको पनि यहाँ धेरै सम्भावना छ । भैरहेका औद्योगिक गतिविधिको आधारमा धनगढी र महेन्द्रनगर महत्वपूर्ण औद्योगिक क्षेत्र बन्न सक्ने क्षमता राख्दछन् ।
यहाँका ऐतिहासिक मन्दिरहरू (जस्तै उग्रतारा मन्दिर, शैलेश्वरी मन्दिर, बडिमालिका मन्दिर, त्रिपुरासुन्दरी मन्दिर) र सुन्दर खप्तड क्षेत्र आफैमा धार्मिक पर्यटकीय गन्तव्य हुन् भने यो प्रदेश प्रसिद्ध तीर्थस्थल मानसरोवर जाने बाटोमा पनि पर्छ ।
चुनौतीको सामना गर्न
संघीयताविद् देवकोटा संघीयता कार्यन्वयनमा आर्थिक चुनौती नभएको दाबी गर्छन् । तर अन्य पूर्व अर्थसचिव तथा अर्थमन्त्रीहरू भने वित्तीय संघीयता कार्यन्वयन अबको मुख्य चुनौतीको रूपमा लिएका छन् ।
तर सांसद हुनु वा प्रमुख हुनु गाडी चढ्न र सेवा सुविधा उपभोग गर्न मात्रै हो भन्ने तवरबाट काम भयो भने संघीयता घाडो हुने सम्भावना उत्तैकै हुन्छ । कतिपय अवस्था ६१० सांसद हुँदा पनि भोगेको समस्या प्रदेश तथा केन्द्र सरकारमा गरेर झण्डै १ सय मन्त्री ७ राष्ट्रपति सभामुख र ७५३ स्थानीय तहका प्रमुख उपप्रमुखलाई दिइने सुविधा मात्रै धेरै छ ।
तर उनीहरूको लागि पर्याप्त काम छ । त्यो काम सहित सुविधा उपभोग गर्दा देश समृद्धिको बाटो र काम नगरी सुविधा मात्रै उपभोगी भएमा संघीयता घाडो हुने यथार्थ भने देखिन्छ ।
प्रकाशित मिति : बुधबार, मंसिर १९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्