काठमाडौँ – नेतृत्वले निर्धारित समयको पालना नगरेको बताउँदै झलनाथ खनालसहित चार जना शीर्ष नेताहरुले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बहिस्कार गरेका छन्।
शनिबार बालुवाटारमा तीन बजेका लागि बोलाइएको बैठकमा साढे तीन बजेसम्म पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सदस्य रामबहादुर थापा र ईश्वर पोखरेल नपुगेपछि खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्वले समयको पालना नगरेको उल्लेख गर्दै बैठकबाट बाहिरिएका हुन्।
‘समयको पालना नगरेपछि हिँड्नुको विकल्प रहेन, प्रधानमन्त्री समयमा नआउदा हामीले अपमानित महसुस गर्यौँ,’ खनालले भने।
बैठक बहिस्कार गरेका अर्का नेता एवं पार्टी प्रवक्ता श्रेष्ठले पनि खनालसँग मिल्दोजुल्दो जवाफ दिए। ‘धेरैमा १५ मिनेट कुर्ने, नभए जानकारी गराएर बैठकबाट बाहिरिने पूर्वसहमति अनुसार हामीले बैठकबाट बाहिरिने निर्णय गरेको हौँ,’ श्रेष्ठले भने।
नेतृत्वले बैठक नडाकेको, एकलौटी निर्णय गर्न थालेको र पार्टी एकतामा गम्भीर नभएको जनाउँदै नेकपामा असन्तुष्टि चुलिएका बेला लामो समयपछि शुक्रबार बैठक आव्हान गरिएको थियो । तर विशेष कारण देखाउँदै बैठक शुक्रबारका लागि सारिएको थियो।
बैठक आव्हान गरिएको समयमा अध्यक्षद्धय ओली र दाहाल प्रधानमन्त्री निवास बालुवाटारमै क्यान्सरबाट ग्रसित तत्कालिन माओवादी केन्द्रकी पूर्व सभासद् तथा नेकपाकी नेतृ मणी खम्बुसँग छलफल गरिरहेका थिए।
प्रकाशित मिति : शनिबार, मंसिर २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्