बुटवल । प्रदेश ५ प्रदेश सभाको हिउदे अधिवेशन भोलि बुधबारदेखि शुरु हुँदैछ ।
दिउसो १ बजे शुरु हुने अधिवेशन कानुन निर्माणमा केन्द्रित हुनेछ । सरकारले प्रदेश सभालाई बिजनेश दिनका लागि १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ भने ४ वटा विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ ।
‘यो अधिवेशन विधेयक अधिवेशन हुनेछ, हामी कानुन निर्माणमा केन्द्रित हुँदैछौं–प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले भने ।
प्रदेश सभा सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार १ बजे बैठक शुरु भएलगत्तै प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभाको अधिवेशन आह्वान भएको पत्र सभामुख पूर्णबहादुर घर्तीले सुनाउने छन् ।
सभामुख घर्तीले दोश्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरु पढेर सुनाउनेछन् ।
त्यसपछि दलको तर्फबाट प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले बोल्नेछन् ।
बुधबार नै प्रदेश सभामा दुई वटा विधेयक पेश हुनेछन् । प्रदेश नं. ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ संघसंस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
यस्तै बैठकमा विशेषाधिकार समितिको सभापति र प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी विशेष समितिको संयोजक चयन गरेकोबारे सभामुखले सभालाई जानकारी गराउनेछन् ।
बैठकमा प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सभामुख घर्तीले सभालाई जानकारी गराउनेछन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर २५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्