तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साईकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो । श्रमिक महिलाहरुको सम्मानको साथैं उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साईकल प्रदान गरिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिइन ।
श्रमिकको आर्थिक÷सामाजिक अवस्थाको आधारमा वडा कार्यालयको सिफारिस अनुसार प्रत्येक वडाका ३ जनाको दरले ५१ जनालाई साईकल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । महिला दिवसको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले श्रमिक महिलाहरुलाई साईकल हस्तान्तरण गरीन ।
दिवसकैं अवसरमा नगरपालिकाले ‘महिला सुरक्षा र रोजगार ः समृद्ध तिलोत्तमा निर्माणको आधार’ विषयक वक्तृत्वकला प्रतियोगितामा समेत सम्पन्न गरेको छ । १७ जनाले सहभागिता जनाएको प्रतियोगितामा चन्द्रा घिमिरे प्रथम, देवकी न्यौपाने द्धितीय, गीतारानी बराल तृतीय र कविता ज्ञवाली तथा प्रतिमा पन्तले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन । समुदाय स्तरका महिलाहरुले सहभागिता जनाएको प्रतियोगितामा महिलाहरुले आफूले भोगेका समस्याहरु समेत अभिव्यक्त गरेका थिए । प्रतियोगितामा ऋषिराम भुसाल, माया घिमिरे र मिनाक्षी न्यौपानेले निर्णायकको भूमिका निर्वाह गरीन।
कार्यक्रममा प्रदेश उपसभामुख कृष्णी थारुले सकारात्मक व्यवहारले मात्र लैङ्गिक विभेद हट्ने बताउँदै परिवारबाटैं समानता कायम हुनुपर्नेमा जोड दिइन। पहिलेको तुलनामा विभेद धेरै हटेको बताउँदै उहाँले राज्यले बनाएका नीति÷नियमको सहीँ कार्यान्वयनले विद्यमान विभेद पनि हटेर जाने विश्वास व्यक्त गरीन। तिलोत्तमा नगरपालिकाले समानतामुलक समाज निर्माण र यहाँका महिलाहरुमा उद्यमशीलताको विकास गराउन गरेका कामहरु प्रशंसनीय रहेको चर्चा गर्दै उनले सबैको एकताबद्ध प्रयासले मात्र समाजमा समानता कायम हुन सक्ने बताइन ।
नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमालाई लैङ्गिकमैत्री नगरपालिका बनाउन थालिएको जानकारी गराउँदै महिलाहरुले समान कामको समान ज्याला पाउनुपर्छ भन्नेमा नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारीन।
नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले रुदीवादी चिन्तन र व्यहबार त्यागन सकेमात्र समतामूलक समाज निर्माण हुने बताइन । समान कामको समान ज्याला सम्बन्धी निर्णय तिलोत्तमा नगरपालिकाले यसअघि नैं गरिसकेको बताउँदै उहाँले यस बारेमा नगरपालिकामा कुनै उजुरी नआएको बताइन। उनले कसैले समान कामको समान ज्याला नपाएको भए सप्रमाण उजुरी दिन सम्बद्ध सबैलाई आह्वान गरीन । महिलाहरुमा सीप विकासको लागि नगरपालिकाले विभिन्न तालिमहरु आयोजना गर्दै आएको बताउँदै उनँले तालिम लक्षित वर्गमा पुर्याउन पछिल्लो समय फरक अभ्यासबाट अघि बढिएको जानकारी दिइन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको स्वागत, ईन्दिरा अर्यालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर सचिव लक्ष्मण खनाललगायतले बोलेका थिए । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ–संस्था, आमा समूह, क्लव, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्