बुटवल ।
जातका आधारमा गरिने भेदभाव अन्त्यका लागि सचेत नागरिक र मानव अधिकारकर्मीहरु अभियानमा सहभागी हुनुपर्ने वक्ताहरुले बताएका छन ।मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको शान्ति समाज र राष्ट्रिय दलित पत्रकार संघ, नेपालका नवनिर्वाचितहरुलाई सम्मान कार्यक्रममा सहभागिहरुले
कानुनी रुपमा जातका आधारमा गरिने भेदभाव अन्त्य भएको बर्षौ बित्यो तर, व्यवहारमा सहरदेखि गाउँसम्म भेदभाव कायमै देखिएको बताए ।मानव अधिकार र दलित अधिकार एक अर्काका परिपुरक रहेको भन्दै जातीय भेदभाव अन्त्यका लागि अधिकारकर्मीहरु मिलेर अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले समाजमा विभिन्न धार्मिक मूल्य र मान्यतालाई आधार बनाएर विभेद गर्ने गरिएको बताउदै धर्मले भने कुनै पनि आधारमा विभेद नगरेको बताइन।अर्का प्रदेशसभा सदस्य, दीपा विश्वकर्माले नेपालमा विस २०२० सालमै कानुनी रुपमा छुवाछुतमुक्त भए पनि समाजमा विभिन्न धार्मिक मूल्य र मान्यतालाई आधार बनाएर विभेद गर्ने गरिएको बताइन ।मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले जातीय भेदभावलाई कानुनले बर्जित गरेको भए पनि व्यवहारमा व्यवहारमा अन्त्य हुन नसकेको बताए ।राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष विनोद पहाडीले २१ औं शताब्दिमा जातीय भेदभावका विरुद्ध अभियान चलाउनु पर्ने अवस्था आउनु आफैमा विडम्बना भएको बताए ।
कार्यक्रममा बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, समाजका केन्द्रिय सचिब मिना ढकाल,कँंग्रेस नेता तथा विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य हरिबहादुर आचार्य क्षेत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम,नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका महासचिव लक्ष्मण दर्नाल, सचिव रीता बुढाथोकी, रिर्पोटस क्लब लुम्बिनीका प्रमुख रामकुमार क्षेत्री लगायतले बोलेका थिए ।
कार्यक्रम शान्ति समाज रुपन्देहीका सभापति डीपी खनालको अध्यक्षता, उपसभापति कृष्ण भट्टराईको स्वागत तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो । सोहि अवसरमा विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य हरिबहादुर आचार्य क्षेत्रीले राष्ट्रिय दलित पत्रकार संघको प्रदेश कार्यालय स्थापनाका लागि आफ्नो घरमा एक बर्षका लागि निशुल्क दिने प्रतिबद्धता समेत जनाएका थिए ।
प्रकाशित मिति : मंगलबार, चैत्र ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्