सौराहा । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीयतालाई सफल बनाउने दायित्व सबैको भएको बताएका छन् । प्रदेश ३ को प्रदेशसभा सचिवालयले चितवनको सौराहामा आयोजना गरेको अन्तर–प्रदेशसभा अनुभव आदान प्रदान तथा अन्तक्र्रिया कार्यक्रम सभामुख महराले संघीयतालाई सफल बनाउने दायित्व सबैको भएको बताए ।
नेपालमा संघीयता नयाँ अभ्यास भएको उल्लेख गर्दै उनले त्यसलाई सफल बनाउने दायित्व सबैको भएको बताए । उनले अधिकार हस्तान्तरण गर्दै संघीयतालाई समृद्ध बनाउँदै जानुपर्नेमा जोड दिए। ‘अमेरिकामा अढाई सय वर्षदेखि संघीयता भए पनि त्यहाँ समस्या छन्,’ सभामुख महराले भने, ‘समस्याहरुसँग जुध्दै जाँदा परिपक्व हुन्छ ।’
सभामुख महराले संसद सबै विचार र भावनाको अभिव्यक्त गर्ने थलो भएकाले संघीय संसद र प्रदेश सभाबीच साझा फोरम निर्माण गरेर नियमित छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिएको संघीय संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद र प्रदेश सभाले साझा अधिकारका सूचीबारे आगामी हिउँदे अधिवेशनबाट छलफल हुने भन्दै त्यसपछि प्रदेश सभालाई कानून बनाउन सहज हुने विश्वास व्यक्त गरे ।
उनले सरकारले बिजनेस नदिएसम्म प्रदेशसभा कामबिहीन हुने उल्लेख गरे । तर, प्रदेशसभाले काम गरेन भनेर गलत प्रचार हुने गरेको उनले बताए । प्रदेश सभामा भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापनमा समस्या रहेको बताउँदै ती समस्यालाई समाधान गर्नुपर्नेमा उनले जोड दिए।
प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नयाँ संविधान कार्यान्वयनका लागि अन्तर प्रदेश सभाबीचको छलफल फलदायी हुने विश्वास व्यक्त गरिन्। ‘संसदीय अभ्यासालई प्रक्रियामा लैजान चुनौती छन्,’ उनले भनिन् ‘संसदीय अभ्यासलाई उचाईमा पुर्याउन एउटा इँटाको काम गर्नेछ ।’
राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संघीय संसद र प्रदेश सभाका समस्या साझा रहेको भन्दै मिलेर समाधान गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा प्रदेश सभाका सभामुख र उपसभामुखले भौतिक पूर्वाधार, मानव संशाधन र मर्यादा क्रम निर्धारण सच्याउनुपर्नेमा जोड दिएका छन् ।
प्रदेश सभाका सभामुख–उपसभामुखले संसदीय प्रणालीका ज्ञान भएका जनशक्ति नभएको, दरवन्दीको व्यवस्था न्यून रहेको, मर्यादाक्रम नमिलेको, प्रदेशका पदाधिकारी संघ जाादा समन्वय अभाव रहेको बताए ।
उनीहरुले साझा सूची व्यवस्थित गर्न ढिला भएको पनि बताए। संसदमा काम गर्ने कर्मचारीले अतिरिक्त समयको सुबिधा नभएको, कर्मचारी प्रदेश सभामा काम गर्न इच्छुक नरहेको लगायतका अनुभव उहाँहरुले सो कार्यक्रममा राखेको संघीय संसद सचिवालयले जनाएको छ ।
उपसभामुखहरुले भने आफूहरुको मर्यादाक्रम सच्याउनुपर्ने, भूमिका बढाउनुपर्नेमा जोड दिए । संघ र प्रदेश सभाका कानुन निर्माणको अवस्था, समस्याहरु, भौतिक पूर्वाधार सहित आन्तरिक व्यवस्थापन लगायतका विषयमा अनुभव आदान प्रदान गर्न कार्यक्रम गरिएको हो ।
संघीय संसद र प्रदेशसभाबीच अनुभव आदान प्रदान गर्न पहिलोपटक गत भदौ ३ गते काठमाडौंको चन्द्रागिरीमा संघीय संसद र प्रदेशसभाको नेतृत्वबीच सामूहिक अन्तक्र्रिया भएको थियो । कार्यक्रममा संघीय संसद (प्रतिनिधिसभा/राष्ट्रिय सभा) तथा प्रदेश सभाका पदाधिकारी एवं सचिवहरुको सहभागिता रहेको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्