काठमाडौं : संघीय संसदकाे हिउँदे अधिवेशन आह्वान गरिएको छ। सरकारले संसदकाे हिउँदे अधिवेशन पुस ११ गते दिउँसो ४ बजेका लागि बाेलाएकाे हाे।
मन्त्रिपरिषद बैठकले निर्णय गरेर हिउँदे अधिवेशनकाे मिति ताेकिएकाे र स्वीकृतिका लागि राष्ट्रपतिकाेमा पठाइएको एक मन्त्रीले जानकारी दिए।
सरकारले हिउँदे अधिवेशन बाेलाएकाे संसद सचिवालयले पनि पुष्टि गरेको छ। संसद सचिवालय स्राेतका अनुसार सरकारले अधिवेशन मिति ताेकेकाे कुरा अनाैपचारिक रुपमा जानकारी दिइएको छ भने आैपचारिक चिठी भने राष्ट्रपतिको स्वीकृतिपछि आउनेछ।
संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाकाे बैठक पुस ११ गते ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।
फागुन २१ भित्र संविधान अनुकुल नभएका कानुनलाई संशोधन, परिमार्जन र नयाँ निर्माण गर्न ढिलाइ हुने भएकाले सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले छिटो अधिवेशन बाेलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्दै आएका थिए।
संसद सचिवालय स्राेतका अनुसार संसद अधिवेशन आह्वान भए पनि संसद अगाडि बढाउन सरकारले बिजनेस नदिएकाे सचिवालयले बताएकाे छ। हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ।
अहिलेसम्म संसदीय समितिहरूमा केही विधेयक भए पनि तिनले धेरै समय नलिने बताइएको छ। ‘अहिले दुईचार दिनका लागि मात्रै बिजनेस छ, त्यसपछिका लागि सरकारले बिजनेस दिएकाे छैन’, सचिवालयका एक उपसचिवले भने, ‘संसद अधिवेशन आह्वान गरे पनि काम कसरी गर्ने भन्ने चिन्ता छ।’
सरकारले ३३९ ऐनलाई संविधानअनुसार परिमार्जन, विस्थापन गर्ने कामलाई सरकारले महत्त्व नदिएकाे सचिवालयकाे दाबी छ।
माैजुदा ऐनहरूमध्ये १६५ पूर्ण छन् भने १७४ लाई संविधान अनुकुल हुनेगरी परिमार्जन गर्नुपर्ने अवस्था छ। परिमार्जन गर्नुपर्ने ऐनहरूमध्ये ३६ वटालाई पूरै नयाँ बनाउनुपर्ने संसद सचिवालयले बताएको छ। कानुन बनाउने काम मन्त्रालयहरूले अगाडि बढाएकाे कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए।
प्रकाशित मिति : मंगलबार, पुष ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्