कांग्रेसको क्रियाशील छानबिन पूरा, चार जिल्लाको नयाँ सदस्यता रोकियो

कांग्रेसको क्रियाशील छानबिन पूरा, चार जिल्लाको नयाँ सदस्यता रोकियो

काठमाडौँ – कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम सकिएको छ । १४ औँ महाधिवेशनका लागि केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता छानबिनको काम पूरा गरेको हो ।

समितिले सर्वसम्मत रुपमा निर्णय गरेका निर्णयहरु, विवाद भएका विषय र सुझावहरु सहितको प्रतिवेदन तयारी गरेको छ । केन्द्रीय पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले समितिले सर्वसम्मत रुपमा निर्णय भए सुल्झाउने र विवाद भए त्यस्ता क्रियाशील सदस्यतालाई आगामी महाधिवेशनका लागि स्थगित गर्ने मापदण्डबमोजिम छानबिन समितिले आफ्नो काम पूरा गरेको जनाएको छ । सो अनुसार क्रियाशील सदस्यहरुको संख्या करिब आठ लाख ५२ हजार रहेको समितिका एक सदस्यले बताए ।

समितिले १६५ वटै निर्वाचन क्षेत्रको पूरानो क्रियाशील सदस्यता नवीकरण गरेको छ । ‘नवीकरणमा धेरै समस्या थिएनन् । त्यसैले सकेसम्म उदार भएर काम गर्‍यौँ, १६५ वटै निर्वाचन क्षेत्रको नवीकरणको विवाद सर्वसम्मत रुपमा समाधान गरेका छौँ,’ ती सदस्यले भने । उनका अनुसार नयाँ सदस्यता वितरण र अन्य पार्टीबाट आएकाहरुको समायोजनमा भएका विवादका विषयहरुमा भने केही ठाउँमा विवाद कायमै छ । मापदण्डबमोजिम ती विवादहरुसहितको प्रतिवेदन समितिले पार्टीलाई बुझाउन लागेको हो ।

ती सदस्यका अनुसार चार जिल्लाको नयाँ सदस्यता वितरणमा विवाद भएपछि त्यसलाई रोकिएको छ । ती जिल्ला जिल्लाहरु सप्तरी, बारा, सिन्धुपाल्चोक र रसुवा हुन् । यस्तै, धनुषा-४ र सर्लाही-२ को नयाँ क्रियाशील सदस्यताका विषयमा पनि छानबिन समितिले सहमति जुटाउन सकेको छैन । त्यो पनि आगामी महाधिवेशनका लागि स्थगित हुन सक्ने ती सदस्यले बताए । ‘यी चार जिल्ला र दुई निर्वाचन क्षेत्रमा सबै वडाको नयाँ सदस्यता रोकियो । समायोजनमार्फत् थप भएका सदस्यता पनि छन्, यीबाहेक अरु जिल्लाका छिटपुट वडाको मात्रै रोकिएको हो,’ उनले भने । देशभरि गरेर करिब सवा सय वडाको विवाद सुल्झाउन नसकिएको ती नेताले बताए ।

सो प्रतिवेदन अहिले बिहान बस्ने केन्द्रीय पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकसमक्ष बुझाउने तयारी रहेको समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए । समितिलाई छानविनका लागि दिइएको समयसीमा भन्दा २२ दिन ढिला गरेर प्रतिवेदन बुझाउन लागेको हो । छानविनको काम समयै पूरा भएको भए साउन १२ अर्थात् आजबाट कांग्रेसको महाधिवेशन सुरु हुन्थ्यो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार आज वडा तहको अधिवेशन हुनुपर्ने हो । तर, समयमा छानविनको काम नसकिँदा महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ ।

आज बस्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा समितिले बुझाउने प्रतिवेदन र महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । बैठक प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ । बैठकमा नेताहरुले छानबिन समितिले गरेका निर्णयहरुको आधारमा विवाद कायम रहेका ठाउँहरुको विवाद समाधान र क्रियाशील सदस्यताको टुंगो लगाउनेबारे छलफल गर्ने एक पदाधिकारीले बताए । त्यस्तै, प्रभावित भएको महाधिवेशनको कार्यतालिकाबारे समेत छलफल गर्ने र सहमति भए नयाँ कार्यतालिका समेत तय गर्न सक्ने ती नेताले बताए ।

यसअघि निर्धारित कार्यतालिकाअनुसार १६ देखि १९ भदौमा केन्द्रीय महाधिवेशन हुनेछ । तर, कोरोना संक्रमणको बढ्दो दर, वर्षा, बाढी पहिरोको कारण देशभर सडक सञ्जालमा भएको अवरोध, गाउँ गाउँमा खेतीपातीको सिजन, सभापति देउवाको सरकार सञ्चालनका कारण हुने व्यवस्तता लगायत कारणले केन्द्रीय महाधिवेशन नै सर्न सक्ने सम्भावना रहेको नेताहरुले बताउँदै आएका छन् । यद्यपि सभापति देउवाले महाधिवेशन सार्नेबारे छलफल गर्न मानेका छैनन् । अहिलेसम्म केन्द्रीय महाधिवेशन जसरी पनि तोकिएकै मितिमा हुनुपर्ने देउवाको अडान छ ।

प्रकाशित मिति : मंगलबार, साउन १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij