काठमाण्डौ ।
सत्तारुढ नेपाली कांग्रेसले चौधौं महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्ने विषयमा अझै सहमति जुटाउन सकेको छैन । अस्तिदेखि चलिरहेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच परस्पर विरोधी धारणा आएका छन् ।
हिजोको बैठकमा संस्थापन पक्षका नेताहरुले आउँदो मंसिरभित्र महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेपछि महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने कार्यतालिका ल्याउनुपर्ने बताएका छन् । तर रामचन्द्र पौडेल पक्षले भने भदौ २३ देखि महाधिवेशनको प्रक्रिया सुरु गरी दसैंअघि नै सक्नुपर्नेमा जोड दिएको छ। क्रियाशील सदस्यसम्बन्धी विवादका कारण कार्यतालिका प्रभावित भएपछि अब के गर्ने भन्नेबारे कांग्रेस केन्द्रीय समितिमा दुई धार देखिएको छ । पौडेल पक्षधरले पार्टीलाई वैधानिक सङ्कटमा पर्न नदिन भदौ २३ अघि नै महाधिवेशन प्रक्रिया थाल्नुपर्ने प्रस्ताव गरेको छ ।
संस्थापन पक्षले चाहिँ प्रक्रिया सुरु गर्ने तर त्यसलाई मंसिरसम्म पुर्याउनुपर्नेमा जोड दिएको छ । पार्टी विधान अनुसार चार वर्षमा गर्नुपर्ने महाधिवेशन साढे पाँच वर्ष बित्दा पनि अनिश्चित बनेको छ । विधानअनुसार आउँदो भदौ १९ भित्र महाधिवेशन भइसक्नुपर्छ । तर भदौ १६ देखि १९ गतेसम्म तोकिएको कांग्रेसको चौधौं महाधिवेशन अनिश्चित भएको छ । महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेसको बैठक आज पनि बस्दैछ ।
प्रकाशित मिति : शनिबार, साउन ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्