चुनाब भएको दुई वर्षसम्म मतगणना भएन !

चुनाब भएको दुई वर्षसम्म मतगणना भएन !

वालिङ : वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको झण्डै दुई वर्ष हुँदा पनि मतगणना हुनसकेको छैन ।

विसं २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो । निर्वाचन पछि मतगणनामा विवाद भएपछि गणना स्थगन गरिएको हो ।

“मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न भएको थियो”, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत दामोदर शर्माले भने, “मतगणनाका क्रममा निर्वाचन अधिकृतको दस्तखतका विषयमा विवाद भएपछि स्थगन गर्नु परेको हो ।”

मतगणनाका क्रममा निर्वाचन अधिकृतको दस्तखत नभएका पहिलो मुठामै दश मतपत्र भेटिएपछि नेविसङ्घले विरोध गरेको थियो भने अनेरास्ववियुले मतगणना गर्न माग गरेको थियो ।

“मेरो संयोजकत्वमा छानबिन समिति गठन गरी प्रतिवेदन दिन अगाडि बढ्यौ”, प्रमुख निर्वाचन अधिकृत शर्माले भने, “क्याम्पसमा तत्कालै परीक्षाको समय भएको र छलफल निष्कर्षमा नपुगेकै कारण मतगणना हुन सकेन ।”

स्ववियुको अर्को निर्वाचनको मिति पनि अब नजिकै आउन थालेकाले पुनः मतगणना हुने सम्भावना कम रहेको शर्मा बताउँछन् ।

क्याम्पसभित्रको समस्याका बारेमा क्याम्पस सञ्चालक समितिमा पटक–पटक यही विषयमा छलफल भएकोले अब छिट्टै विद्यार्थीसँग बसेर निष्कर्षमा पुगिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद रेग्मीले बताए ।

“गणना र पुनः निर्वाचनले द्वन्द्व सिर्जना गर्ने अवस्था देखिने ठान्यौँ”, उनले भने, “छलफल गरी निचोडमा पुग्छौँ ।”

त्रिविले तोकेको समयमा नयाँ संरचनाअनुसार नयाँ नेतृत्वका लागि निर्वाचन गरी समाधानको बाटो अँगाल्ने विषयमा सञ्चालक समितिमा छलफल भइरहेको रेग्मीको भनाइ थियो ।

मतपेटिका हालसम्म पनि वडा प्रहरी कार्यालय वालिङमा शिलबन्दी गरी राखिएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij