बुटवल,२६ असाेज ।
सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं. २ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङ निर्वाचन आयाेग बिरूद्व सर्वाेच्च जाने तयारी गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका गुरुङकाे उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च जाने तयारी गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
समाजवादीका जिल्ला अध्यक्ष अविराम विकले उम्मेदवारी खारेजीको विषयलाई लिएर सर्वोच्च जाने तयारी भएको जानकारी दिए ।
निर्वाचन आयाेगले बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरे पनि कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको विकले बताए ।
राजनीतिक पूर्वाग्रह राखेर निर्वाचन आयोगले गुरूङकाे उम्मेदवारी खारेज गरेकोले त्यसको बिरूद्व सर्वोच्च जाने तयारी भएको उनलेे बताए ।
बैंकिङ कसुर गरेको भनिएको कम्पनीले तिर्नुपर्ने रकम तिर्न खोज्दा पनि नदिइएको विकले दावी गरे ।
निर्वाचन कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति ११ बजे सूचना जारी गरी गुरुङको उम्मेदवारी खारेज भएको जनाकारी गराएका थिए ।
गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङ समेत सेयर सदस्य रहेको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।
त्यस्तै स्वतन्त्र उम्मेदवार हिमाल बस्याल, हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस)को उम्मेदवारी पनि खारेज भएको छ ।
प्रकाशित मिति : बुधबार, असोज २६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्