बुटवलमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक सुरू

बुटवलमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक सुरू

आगामी निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुन्छ :गृहमन्त्री खाँण

बुटवल – मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरी लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठक बुटवलमा सुरु भएको छ ।

प्रदेशका १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख र प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको वैठकको उद्‌घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ।’

उनले सरकार भयरहित, शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन प्रतिवद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिए । ‘सबै नागरिक सुरक्षित होउन् । ढुक्कसंग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्नु ।’

स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेजस्तै आगामी निर्वाचन पनि सबैको सहयोगमा शान्तिपूर्ण हुने उनले बताए ।

गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिवद्ध रहेको उल्लेख गरे ।

सुरक्षा बैठकमा प्रदेशको सुरक्षा अवस्था र आगामी निर्वाचनबारे छलफल हुनेछ । बैठकमा निर्वाचन बहिष्कार गर्दै बिथोल्ने धम्की दिएको विप्लव समूह र विप्लवबाट फुटेर गएको नेकपा बहुमतको गतिविधि नियन्त्रणका विषयमा पनि छलफल हुने सुरक्षा स्रोतले बताएको छ ।

गृहमन्त्रालय  र आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना र अनुसन्धानका अधिकारीहरु सहभागी छन् । उनीहरुले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, कार्तिक १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij