माननीयहरुसंग हिसाब किताब खोज्ने सबैभन्दा उपयुक्त समय यही नै हो 

माननीयहरुसंग हिसाब किताब खोज्ने सबैभन्दा उपयुक्त समय यही नै हो 

 

बुटवल

मङ्सिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभाको चुनावका लागि दलका उम्मेदवार तथा कार्यकर्ताहरू मतदाता माझ भोट माग्न जाँदै गर्दा सम्भव असम्भव हरेक प्रकारका आश्वासन बाँडेको पाइन्छ । यो भनेको दुवै तहका सांसदलाई नीति नियम बनाउने भन्दा विकासे सभामा परिणत गर्दाको परिणाम हो । यो अवस्थामा मतदाताले पनि आफ्नो गांउ ठांउको विकासको अपेक्षा उम्मेदवारसङ राख्नु अति स्वाभाविक हुन्छ । चुनाव जितेर मतदातासङ नेताले गरेका वाचा भुल्छन् भने यो नेताहरूको कमजोरी हो र मतदातालाई कमसेकम ५ वर्ष पछि उनीहरूसँग हिसाब किताब खोज्ने अधिकार संविधानले दिएको हुन्छ ।

लुम्बिनी प्रदेश

सङ्घीयता पछि लुम्बिनी प्रदेसमा पनि प्रदेश सरकारको अभ्यास पहिलो पटक भईसक्यो भने दोस्रो ५ वर्षे अभ्यासका लागि मङ्सिर ४ मा निर्वाचन हुदैछ । यो निर्वाचनले लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी ८७ जना सांसदको चयन गर्ने छ र तीनै ८७ सांसदले अव को नंया सरकार बनाउने छन् । दलहरूको भाषामा अव बन्ने नंया सरकारले जनताको भावना र चाहाना अनुसार काम गर्ने छ ।

यो समय भनेको जनताले नेताको समीक्षा गर्ने र जनचाहना विपरीत आफ्ना प्रतिनिधिहरूले काम गरेको पाइए उनीहरूलाई सजाय दिने समय पनि हो । अहिले लुम्बिनी प्रदेशसभाको चुनावमा रुपन्देहीवाट केही नंया र केही पुराना नेताहरू चुनावी मैदानमा खडा भएका छन् । नंया उम्मेदवारको हकमा उनीहरूको परीक्षण हुन बाँकी छ । निर्वाचनमा पराजय भोगे उनीहरूको परीक्षण हुने कुरै भएन, चुनाव जिते भने उनीहरूको समीक्षा अर्को चुनावमा जनताले विवेकसम्मत तरीकाले गर्ने नै छन् ।

हिजोको धोका

सङ्घीयता पछि सरकारले यो प्रदेसको अस्थायी राजधानी बुटवल तोकेको थियो र संविधानले प्रदेसको स्थायी राजधानी तोक्ने जिम्मेवारी प्रदेशसभालाई दिएको थियो । प्रदेशसभाको समीकरण अनुसार करिब ६५ प्रतिशत जनमत बुटवललाई नै स्थायी राजधानी बनाउने पक्षमा देखिन्थ्यो तर यस्तो अवस्थामा पनि बुटवलवाट अन्यत्र राजधानी सार्ने काम भयो अर्थात् यो जिल्लावाट जिताएका माननीयहरूले रुपन्देहीका जनताको भावना माथि नाङ्गो खेलबाड गरे, जनताको मत र अपेक्षा माथि प्रहार गरे र समग्रमा भन्दा रुपन्देहीका मतदातालाई धोका दिए । संभवत यि माननीयहरुसंग हिसाब किताब खोज्ने सबैभन्दा उपयुक्त र अन्तिम समय यही नै हो ।

प्रश्न गरौँ ,उत्तर खोजौँ

संसदमा नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकालले आफ्ना पार्टीका सांसदहरूलाई उर्दी जारी गरे ” रुपन्देहीका सबै सांसदले यहावाट राजधानी अन्यत्र सार्ने पक्षमा मतदान गरौँ, अन्यथा पार्टीले कारबाही गर्ने छ ।”

प्रश्न गरौँ- रुपन्देहीका मतदाताको भावना माथि खेल्ने अधिकार ढकाललाई कसले दियो ?

प्रश्न गरौँ – जनताको लागि काम गर्नै भन्दै जनताको भोट जितेका ढकालको अगाडी पार्टीका पंहुचवाला नेताको आदेश ठुलो की जनताको आवाज ठुलो ?

अहिले ढकाल रुपन्देही क्षेत्र न ५ वाट प्रदेशसभाका लागि उम्मेदवार वनेका छन् ।

करिब साढे ३ वर्ष प्रदेश सरकारका मन्त्री भएका लिला गिरि अहिले पनि रुपन्देही क्षेत्र न २ क वाट प्रदेश सभामा उम्मेदवार वनेका छन् ।

प्रश्न गरौँ – रुपन्देहीवासीको विश्वास ठुलो की, शङ्कर पोखरेलले दिएको मन्त्रालयको भाग ठुलो ?

प्रश्न गरौँ – मतदाताको भावना माथि खेल्ने अधिकार गिरिलाई कसले दियो ?

त्यस्तै राजधानी सार्ने निर्णयमा हस्ताक्षर गर्नेहरू दधिराम न्यौपाने र तुल्सी चौधरी पनि यसपटक रुपन्देहीका विभिन्न क्षेत्रवाट उम्मेदवार वनेका छन् । राजधानी सार्ने नैतिक जिम्मेवारीवाट अर्का उम्मेदवार भोज प्रसाद श्रेष्ठलाई पनि मुक्त हुने सुविधा छैन ।

सबैलाई सोधौँ – जिल्लावासीको भावनासङ जोडिएको राजधानी समेत बचाउन नसक्नेलाई के खुबी देखेर भोट दिने ? अनि उनीहरूले बाँडेका आश्वासनलाई विश्वास गर्ने न्यूनतम आधार के छ ? प्रश्न सोध्ने समय यही नै हो ।

अन्तमा करिब ४ वर्ष अगाडि एक अनौपचारिक कार्यक्रममा त्यस वेलाका सांसद दधिराम न्यौपानेलाई स्थायी राजधानीको विषयमा जिज्ञासा राख्दा उनले भनेका थिए “बुटवलवाट राजधानी अन्यत्र सार्ने विषयमा सहमति गरियो भने त जनताका अगाडि कसरी मुख देखाउन सकिन्छ र ?”

राजधानी सार्ने काममा ल्याप्चे ठोक्नु भयो, फेरी चुनावमा उठ्नु भएको छ । माननीय कमरेडहरू भोट माग्न जांदा मुख देखाएर हिड्नुस वा मुख छोपेर हिड्नुस त्यो तपाईँहरूको मर्जी ।

प्रकाशित मिति : सोमबार, कार्तिक २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij