रुपन्देहीको विकासमा दीर्घकालीन योजना ल्याएँ:गृहमन्त्री खाँण

रुपन्देहीको विकासमा दीर्घकालीन योजना ल्याएँ:गृहमन्त्री खाँण

 

भैरहवा।

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको शिक्षा, स्वास्थ्य, सडक, पुल, सिंचाई लगायत जिल्लाको समग्र बिकासका लागि आफूले बिगतमा दीर्घकालीन महत्वका योजनाहरु ल्याएको दावी गरेका छन् । उनले तिनाउ र दानवमा जनताको तटबन्धन, पुल निमार्ण, सोह्र–छत्तीस सिंचाई प्रणाली निमार्णमाको कम आफ्नै पहलमा भएको र यसले जिल्लाको सिंचाईमा फड्को मारेको जिकिर गरे ।

गठबन्धनद्वारा क्षेत्रका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा बोल्दै पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खाँणले बेलहिया–बुटवल ब्यापारिक मार्ग, गौतमबुद्ध बिमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने, देवदह– मणिग्राम–लुम्बिनी बुद्धसर्किट निमार्ण गरी बीचका बस्तीलाई गुल्जार बनाउनमा पनि आफूले महत्वपूुर्ण भूमिका खेलेको बताए ।

ब्यापारिक मार्ग बिस्तारको क्रममा अधुुरो रहेको काम पनि छिट्टै पुरा गर्ने उनले प्रतिबद्धता जनाए । भैरहवामा बिमानस्थल बनाउन र भैरहवामा बिषेश आर्थिक क्षेत्र (सेज) ल्याउनमा कांग्रेस नेता स्वर्गीय रामकृष्ण ताम्राकारको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै उनको प्रशंसा समेत गरे । उनले रुपन्देही, भैरहवा क्षेत्रको बिकासमा आफू र स्वर्गीय ताम्राकारबीच सधै सहकार्य हुने गरेको पनि बताए ।

त्यस्तै देवदह–मणिग्राम– लुम्बिनी– तिलौराकोट– गोरुसिंगे, बेलवास– बेथरी, तामनगर–फर्सटिकट हुँदै बेथरी– मर्चवार सडक, भैरहवादेखि नवलपरासीको भूमही, केदली– सिसुवा, मुर्गिया– सूर्यपुरा, देवदह– मणिग्राम–फर्साटिकर– सूर्यपुरा– लुम्बिनी, छपिया– बेथरी सडक निर्माण एवम स्तरोन्नती गर्न पनि पहल गरेको उनले बताएका छन् ।

त्यस्तै, आफुू शिक्षा राज्यमन्त्री हुँदा माध्यमिक शिक्षा सहयोग कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाका १५ वटा विद्यालयको भौतिक सुधार गरेको उल्लेख गर्दै उनले सिद्धार्थ गौतम बुद्ध क्याम्पसको स्थापना, पब्लिहवा कृषि क्याम्पसको स्तरोन्नती, दुधनाथ थारु यज्ञोदय बहुमुखी क्याम्पसको स्तर बृद्धि एवम् स्कुल बसको ब्यवस्थापन, खड्ग बनगाई माबि, भगलापुर माबि, मानपकडी जनता माबि, अमुवाको भौतिक बिस्तार एवम् शैक्षिक सुधार, नवरत्न माबि, सेमलार प्राविधिक धार स्थापना र सिसै माबि खड्ग बनगाई भवन निर्माण, जनता माबि र बिरेन्द्र माबि छपियामा भवन निर्माण जस्ता काम गरेको बताए ।

उनले अहिले पक्लिहवा माबिलाई बस खरिद, नवरत्न मावि बुटवलको खेलमैदान निमार्ण, जनता आधारभूत मायादेवीको भवन निमार्ण, त्रिवेणी आधारभूत विद्यालय सियारी गोठवामा खेलमैदान निर्माणको लागि पनि बजेट बिनियोजन भएको जानकारी दिए । बहिरा बाल विद्यालय भैरहवाको भवन निमार्ण, सियारीको मदनगन्ज आधारभूत विद्यालय स्तरोन्नती, तिलोत्तमा नगरपालिका टिकुलीगढमा दुर्गा वेदवेदङ्ग संस्कृत विद्यालय पूर्वाधार विकास, शुद्धोधन खजुरीया आधारभूत विद्यालय कक्षाकोठा निर्माण, शुद्धोधनकै वेलवा आधारभूत विद्यालय भौतिक पूर्वाधआरको लागि पनि बजेट बिनियोजन भएको बताए ।

यसै आर्थिक बर्षमा काम गर्ने गरी फर्साटिकर माबि, बनगाई माबि, जनचेतना आधारभूत विद्यालय, कोटही निमाबिको पर्खाल निर्माण तथा फुलबारी व्यवस्थापन, मैनहिया माबिको खाजा घर निर्माण बजेट बिनियोज भएको बताउँदै सियारीको दुर्गादेवी निमाबि र वेलहिया माविको भौतिक पूर्वाधार निर्माण भएको बताए ।

त्यस्तै सिचाई मन्त्री हुँदा जनताको तटबन्ध र स्यालो ट्युवबेल निर्माणको काम सुुरु गरेको बताउँदै उनले छतिस मौजा सिंचाई नहरको रिटेनिङ पर्खाल निर्माण, जिल्लाका बिभिन्न तालहरुको संरक्षण कार्य– बैठौलिया, कुन्जलापुर, सूर्यपुरा ताल संरक्षण, गडुवा ताल सिचाई योजना, चारतपाहा सिंचाई योजनाको मुहान निर्माण, मर्चवार लिफ्ट सिँचाई योजनाको थप कार्य, ईङगुरिया, कन्चन सिंचाई कार्य थालनी पनि आफ्नै पहलमा भएको बताए । रुपन्देहीलाई अझ बिकसित र समुन्त बनाउन आफूले थुुप्रै योजना ल्याएको र त्यसलाई साकार पार्न जनताको साथ जरुरी रहेको उनले जनाए ।

 

बोहोरालाई ‘बेडरेष्ट’ गर्न सुझाव

 

राप्रपा–एमाले र जसपा गठबन्धनबाट रुपन्देही–३, का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा यहाँका पुराना राजनीतिक खेलाडी हुन् । वर्षौंदेखि यस क्षेत्रमा प्रमुख प्रतिष्पर्धीका रुपमा निर्वाचनमा सहभागि भइरहेका छन् । कहिले जीत, कहिले हार भोग्दैं आएका छन् । ०७४ सालको निर्वाचनमा उनी यसै क्षेत्रबाट प्रतिष्पर्धामा थिए । त्यसबेला तत्कालीन एमाले नेता घनश्याम भुषालसित पराजित भएका थिए । यसपटक उनी वर्तमान गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणसित प्रतिष्पर्धामा उत्रिएका छन् । सधैं राजनीतिका माहिर खेलाडीका रुपमा मैदानमा उत्रिने बोहोरा यसपटक सुस्त देखिएका छन् । त्यसको कारण उनको स्वास्थ्य बनेको छ ।

चर्को भाषण गरेर मतदाता समक्ष आफ्ना तर्क र योजना राख्दैं आएका बोहोरा यसपटक निर्वाचन मिति नजिकैं आइपुग्दा समेत मौन छन । बोहोरा निकटले घाँटीमा उत्पन्न समस्याका कारण उनी अहिले ‘भ्वाइस रेष्ट’मा रहेको जनाएका छन् । एकसाता अघि राप्रपा गठबन्धनको प्रतिवद्धता गर्ने कार्यक्रममा बोल्दैं राप्रपा नेता निरञ्जन थापाले चिकित्सकको सल्लाह बमोजिम बोहोरा अहिले ‘भ्वाइस रेष्ट’मा रहेको जानकारी दिएका थिए । ‘बोहोरा जी अहिले भ्वाइस रेष्टमा हुनुहुन्छ,’उनले भने, ‘मंसिर १२ गतेपछि उहाँ बोल्नु हुनेछ ।’ यहाँ आयोजित कार्यक्रममा सहभागी भएपछि बोहोरा आफ्नो कुरा राख्दैनन । सुन्छन मात्रै । उनको प्रतिनिधित्व गरेर थापा र राप्रपा नेता स्वाती थापाले दलको बिचार सार्वजनिक गर्दै आएका छन् ।

केही दिन अघि रुपन्देहीमा एक टेलिभिजनले आयोजना गरेको ककसमा समेत बोहोरा सहभागी हुन सकेनन । उक्त कार्यक्रममा गृहमन्त्री खाँण, पूर्व अर्थमन्त्री तथा रुपन्देही–२,का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बिष्णु पौडेल, रुपन्देही–१, मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुषाल लगायत नेता सहभागी थिए । उक्त कार्यक्रममा बोहोराको प्रतिनिधित्व गर्दै पूर्व गृहराज्यमन्त्री समेत रहेका थापाले आफ्नो भनाईं राखेका थिए । उक्त कार्यक्रममा प्रतिष्पर्धीको सामाना गर्न नपाएपछि गृहमन्त्री खाँणले असन्तुष्टी व्यक्त गरेको एक सहभागीले जानकारी दिए ।

पञ्चायतकालदेखि राजनीति गर्दै पटकपटक लाभको पदमा पुगिसकेका बोहोराको स्वास्थ्यलाई लिएर सत्ता गठबन्धन आवद्ध नेताले चिन्ता व्यक्त गरेका छन् । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका एक नेताका अनुसार ०४६ सालको जन आन्दोलनपछि सर्वोच्च नेता गणेशमान सिंहलाई प्रधानमन्त्री पद लिन दबाब थियो । तर, आफ्नो बिग्रदो स्वास्थ्यलाई ख्याल राख्दै सिंहले प्रधानमन्त्री हुन अस्विकार गरेको उनले सुनाए । ‘गणेशमानसिंहबाट अहिलेका नेताले सिक्नुपर्छ,’उनले भने, ‘आफ्नो स्वास्थ्य राम्रो नभएकाले बेला जनताको सेवा कसरी सम्भव हुन्छ ।’ थला परुन्जेल राजनीति गरिरहने चलन अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

सत्ता गठबन्धनबाट रुपन्देही–३ (१) का उम्मेदवार सन्तोषकुमार पाण्डेयले स्वास्थ्य उपचारमा ध्यान दिनु पर्ने बताए । ‘अहिले बोहोरालाई भ्वाइस होइन, बेडरेष्ट नै जरुरी हो,’उनले भने, ‘उहांको स्वास्थ्यलाभको कामना गर्दछु ।’ मतदाताले समेत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी नगराएको दुख व्यक्त गरेका छन् । ‘हामीलाई केही दिनमा उहाँ बोल्नु हुन्छ भनियो,’ भैरहवाको मिलनचोकका एक स्थानीयले अहिले भने, ‘मतदानको मिति नजिकैं आयो, उहाँ बोल्नु हुन्न ।’ निर्वाचनपछि उहाँ बोल्नु हुन्छ भनेर गरिएको प्रचारप्रति टिप्पणी गर्दैं उनले भने, ‘चुनाव सकिएपछि नेतासित हाम्रो भेट हुँदैन ।’

प्रकाशित मिति : आइतबार, कार्तिक २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij