रुपन्देही
आसन्न मंसिर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) करण गरेको टिप्पणी गरेका छन् । एमाले परित्याग गरी त्रिभुज चिन्ह लिएर उम्मेदवार बनेका भुसालले भने, ‘नेकपा एमाले हिजो जुन ब्यवस्थाबिरुद्ध लड्यो, उही ब्यवस्था चाहिन्छ भन्ने राप्रपा जस्तो पार्टीसंग चुनावी एकता गरेर ओलीले पार्टीलाई राप्रपाकरण गरे ।’
रुपन्देहीको देवदह नगरपालिकाका विभिन्न वडाहरुमा बुधबार घरदैलो गरिरहेका नेता भुसालले भने, ‘एमालेबाट राप्रपाका मान्छेले टिकट पाउने अवस्था आयो, हामीले जिन्दगीभर बनाएको पार्टीबाट राप्रपाहरुले टिकट पाउनु यहाँभन्दा लज्जास्पद के हुन सक्ला ?’ आफूले टिकट पाउन ओलीसंग माफी माग्नुपर्ने भनिएपछि आफूले त्यसो नगरेको उनले बताए । भुसालले भने, ‘दशकौं मेहनत गरेर हामी आफैले बनाएको पार्टीको टिकट पाउन ओलीसंग माफी माग्न्पर्ने अवस्था आएपछि मैले त्यसो गर्न सकिन् ।’ ओलीको चाकडी गरेको भए आफू मन्त्री पनि भइरहने उनको भनाई थियो ।
आफूले दास मनोवृति अंगाल्न नसकेपछि स्वतन्त्र उम्मेदवारी दिने सोंच बनाएका बेला पाँच दलीय गठबन्धनको समेत साथ पाएर उम्मेदवार बनेको उनले चर्चा गरे । ओलीले संसद र संविधानमाथि प्रहार गर्दा त्यसको रक्षा गरेकै कारण आफूलाई ओलीले अपमान गरेको भुसालले उल्लेख गरे । संविधानको रक्षाको लागि आफू पार्टीभित्र निरन्तर लडेको बताउँदै नेता भुसालले भने, ‘म जनताको बर्खिलाप गर्ने गरी कुनैपनि प्रलोभनमा परिन र टिकटको लागि माफी मागेर सांसद हुन पनि चाहिन ।’
भुसालले नेकपा एमाले ओलीको चंगुलबाट मुक्त हुन संभव नभएकाले आफूले पार्टी छोड्न बाध्य भएको तर्क गरे । राप्रपाले लिएको राजनीतिक कार्यदिशा अंगालेको एमाले पश्चगमनतर्फ धकेलिएको उनको ठहर छ । यसर्थ एमालेभित्र रहेका इमान्दार कम्युनिष्ट नेता कार्यकर्ताले राप्रपाको हलो चिन्हमा मतदान नगर्ने उनले ठोकुवा गरे ।
रुपन्देहीको विकासको लागि आफूले लिएका योजनाहरु जनतामा पुर्याएको र जनाताको उत्साहजनक प्रतिक्रियाले आफूले निर्वाचन जित्ने आधार तय भएको पनि भुसालले बताए । उनले रुपन्देहीका विभिन्न सडक विस्तार र स्तरोन्नति, कृषिको आधुनिकिकरण, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य र जनजिविकाका पक्षमा लिएका रणनीतिक योजनाहरु आगामी कार्यकालमा पुरा गरिने बताए ।
प्रकाशित मिति : बुधबार, कार्तिक ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्