दीपक बोहोराको स्वास्थ्य प्रति सर्वत्र चासो

दीपक बोहोराको स्वास्थ्य प्रति सर्वत्र चासो

भैरहवा -हुन त कुनै व्यक्तिको स्वास्थ्य समस्यालाई लिएर गरिने नकारात्मक टिप्पणीलाई समाजले रुचिकर मान्दैन तर त्यस्तो व्यक्ति जब सार्वजनिक सरोकारको लागि काम गर्छु भन्छ, उसको स्वास्थ्य प्रति आम चासो र चिन्ता हुनुलाई अस्वाभाविक मानिँदैन । विश्वका कतिपय नेताहरूको स्वास्थ्य समस्यालाई लिएर आम मानिसले जिज्ञासा राखेका समाचार हामीले सुन्दै र पढ्दै पनि आएको हो ।
यो सन्दर्भ आसन्न निर्वाचनमा रुपन्देही क्षेत्र नं ३ वाट राप्रपाको तर्फबाट उम्मेदवारी दिएका जिल्लाका पुराना नेता दीपक बोहोराको हो । विभिन्न समाचारमा उल्लेख भए अनुसार पोस्ट कोभिडका कारण बोहोराको घाँटीमा समस्या देखिएको छ र जसका कारण उनी चुनाव प्रचारको क्रममा कतै पनि केही बोलेका छैनन् ।
हामीकंहा त्यस्तो अभ्यास त खासै भएको पाइँदैन तर विश्वका कतिपय मुलुकमा टेलिभिजन कार्यक्रममा नेताहरूले दिएका तर्क बहस र आश्वासनका आधारमा मात्रै पनि मतदाताले निर्वाचनमा उठेका उम्मेदवारलाई भोट खसाल्ने गरेको सुनिन्छ । हामीकंहा पनि नेताहरूले प्रचार प्रसारको समय पाएका हुन्छन् र उक्त समय भित्र आफू निर्वाचित भए यो यो काम गर्छु भन्ने वाचा गरेका हुन्छन् र त्यही अनुसार मतदाता पनि प्रभावित भएको पाइन्छ ।
रोग जसलाई पनि लाग्छ । दीपक बोहोराको पनि लाग्यो यो उनको नितान्त व्यक्तिगत कुरा थियो र यस मानेमा बोहोराको स्वास्थ्यलाई लिएर सर्वत्र चासो वा चिन्ता लिनु पर्ने आवस्यक्ता नै थिएन । तर जब बोहोरा एक व्यक्ति मात्र नभएर सार्वजनिक हितका खातिर उम्मेदवार भएका छन् यो वेला उनको स्वास्थ्य प्रति आम चासो बढ्नु अस्वाभाविक होइन । मतदाताले आफ्ना नेता सबल सक्षम र कुशल होउन् भन्ने चाहान्छन । यो वेला उम्मेदवारले जनतासंग वाचा गर्ने समय हो र जितेमा वाचा कार्यान्वयन गर्छु भनेर अठोट गर्ने समय पनि हो ।
दीपक बोहोराको आफ्नै स्वास्थका कारण बोल्दैनन, त्यसैले उनले गर्ने वाचा र अठोटका कुरा उनका सहयोगीहरूले गरेको सुनिन्छ। आफ्नो स्वास्थ्य अवस्था यस्तो प्रतिकुल हुँदा हुदै पनि बोहोरा नबोली नबोली मत माग्न अहोरात्र खटिएका छन् भन्ने सुनिन्छ । तर यस्तो अवस्थामा उनलाई आराम बेड रेष्टको जरुरी थियो । बिरामीलाई अगाडि लगाएर भोट माग्दै हिँड्नु कार्यकर्ताहरूको लागि पनि त्यती सहज विषय हो भन्ने लाग्दैन ।
दीपक बोहोरा चुनाव अगाडी नै बिरामी भएको भनेर उनका परिवारका सदस्यहरूले बताउँदै आएका थिए । यस्तो अवस्थामा उनी आफै चुनाव नलडेर राप्रपाका अरू नेताहरूलाई मौका दिएको भए झनै राम्रो हुने थियो । त्यसो गरेको भए बोहोरा पछिको अर्को नेतृत्व पनि यो क्षेत्रमा तयार हुने थियो । अरुलाई उठाएको भए राजनीतिका अनुभवी नेता दीपक बोहोराले त्याग गरेर अरुलाई ठांउ दिए भनेर राम्रो शन्देस पनि जान सक्थ्यो । तर उनले यसो गरेनन् नबोली नबोली चुनावमा होमिए । चुनावमा उठे पछि हार जित भन्ने कुरा स्वाभाविक हो । अहिलेलाई दीपक वोहोराको पुर्ण स्वास्थ्य लाभको कामना गरौँ ।

प्रकाशित मिति : बिहिबार, मंसिर १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij