दाङ – लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हाे ।
पहिलाे मतदान लुम्बिनी प्रदेश सभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गरे । अहिले मतदान जारी छ । मतदानका लागि १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको हो ।
राष्ट्रिय सभा सदस्य चुनावमा लुम्बिनी प्रदेशमा रहेका पालिकाका प्रमुख–उपप्रमुख र प्रदेश सभा सदस्य गरी ३ सय ५ जना जनप्रतिनिधिले मतदान गर्नेछन् । जसमा २ सय १८ जना पालिकाका प्रमुख/उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू रहेका छन् ।
पालिका र प्रदेश सभा सदस्यको मत भार छुट्टाछुट्टै गणना हुन्छ । पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मत भार १८ र प्रदेश सभा सदस्यको मत भार ४८ छ । लुम्बिनी प्रदेशमा पालिका र प्रदेश सभामा गरी कांग्रेसको कुल मतभार २ हजार ९ सय ५२ छ ।
त्यस्तै एमालेसँग २ हजार ५ सय ९८, माओवादीसँग १ हजार १ सय ६६ राप्रपासँग २ सय ४६, जनता समाजवादी पार्टी जसपासँग २ सय ५२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग २ सय १६ मतभार छ ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीसँग १ सय ९२, जनमत पार्टीसँग १ सय ४४, राष्ट्रिय जनमोर्चासँग १ सय २०, एकीकृत समाजवादीसँग ४८, जनता प्रगतिशील पार्टीसँग ३६ र स्वतन्त्र २ सांसदको मत भार ९६ छ । मतभार अनुसार सत्तारूढ गठबन्धनका उम्मेदवारको जित निश्चित जस्तै छ ।
प्रकाशित मिति : बुधबार, माघ २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्