काठमाडौं :- राष्ट्रपति निर्वाचनका लागि दलहरु आज निर्णायक छलफलमा जुट्ने भएका छन्।
विभिन्न दलसँग छलफल गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सबै जसो दलसँग निर्णायक छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारी गरेका हुन्।
राष्ट्रपति पदका लागि निर्णायक मत भएका नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड आफैँ सक्रियताका साथ लागेका हुन्। प्रचण्डले हिजो नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुसँग संयुक्त तथा एक्लाएक्लै छलफल गरेका थिए।
छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन तीनै दल सकारात्मक भएका छन्।
त्यस्तै बुधबार प्रचण्डले कांग्रेस नेताहरुसँग छलफल गरेका थिए। हिजै पुरानो गठबन्धनसँग संयुक्त बैठक बस्ने तयारी भए पनि समय नपुगेका कारण बस्न सकेको थिएन। आज बिहान ८ बजे पुरानो गठबन्धनका दलहरुसँग संयुक्त छलफल गर्ने तयारीमा प्रचण्ड जुटेका हुन्। हिजो साँझ सिंहदरबारमा बसेको तीन दलीय बैठकपछि प्रधानमन्त्री प्रचण्डले आज बिहान निर्णायक बैठक हुने बताएका थिए।
प्रचण्डले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने तयारी गरेका छन्। एमालेले भने राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन भोलि बिहान सचिवालय बैठक बोलाएको छ।
त्यसअघि ओलीले आज पार्टीका शीर्ष नेताहरुसँग अनौपचारिक छलफलको तयारी गरेका छन्।
कांग्रेसले पनि भोलि बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर छलफल गर्ने तयारी गरेको छ। कार्य सम्पादन समितिको बैठक हिजो बस्ने भनिए पनि बस्न सकेको थिएन।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि कार्य सम्पादन समितिको बैठक बोलाएको छ। आज बस्ने बैठकमा राष्ट्रपति चुनावको रणनीति तय गरिने छ।
भोलि राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजको बैठकमा राष्ट्रपतिको समीकरणबारे निर्णय लिइने छ।
२५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयनको कार्यतालिका छ।
प्रतिक्रिया दिनुहोस्