राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङ आफ्नो पक्षमा समर्थन जुटाउन पहल थाले

राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङ आफ्नो पक्षमा समर्थन जुटाउन पहल थाले

काठमाण्डाै – राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले आफ्नो पक्षमा समर्थन जुटाउने पहल थालेका छन् । कांग्रेस, माओवादीसहित आठ दलको समर्थनमा उम्मेदवारी दिएका पौडेलले मोर्चाबाहिरका दलसँग समर्थन माग्दै भेटवार्ता थाल्नुभएको हो । उहाँले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट गर्नुभएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

यस्तै एमालेले राष्ट्रपतिको चुनावमा आफ्ना उम्मेदवार नेम्वाङलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसदमा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले कांग्रेसबाहेक संसदमा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई पत्र पठाएको जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक दल र स्वतन्त्रसहित १७ पत्र पठाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत पार्टीका अध्यक्षसहित स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको चुनावमा नेम्वाङलाई सहयोग गर्न पत्र लेख्नुभएको हो ।

राष्ट्रपतिको लागि आउँदो २५ गते मतदान हुँदै छ । कांग्रेससहित आठ दलका तर्फबाट उम्मेदवार बनेका पौडेललाई सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीसँगै एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ । एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन् ।

एमाले नेताहरूले भने पुस १० गते भएको सहमतिअनुसार नै राष्ट्रपति चुनावमा माओवादीसहित दलहरुको साथ पाउने दाबी गरेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल मतभार ५२ हजार ६ सय २८ को बहुमत २६ हजार ३ सय १५ मतभार आवश्यक पर्छ । पौडेलको पक्षमा रहेका दलहरुको मतभार ३१ हजारभन्दा धेरै छ भने नेम्वाङको पक्षमा एमालेको १५ हजार ३ सय १२ मत मात्रै छ । यो हिसाबले राष्ट्रपतिमा पौडेलको जित निश्चितजस्तै देखिए पनि एमालेका नेताहरुले मत क्रस हुने र नेम्वाङको पक्षमा बहुमत पुग्ने दाबी गर्दै आएका छन् ।

गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेम्वाङ इलाम–२ र पौडेल निर्वाचन क्षेत्र तनहुँ–१ बाट निर्वाचित हुनुभएको हो । पौडेलसँग उपप्रधानमन्त्रीसहित शान्ति तथा पुनःनिर्माण, गृह, कृषि, सूचना तथा सञ्चारमन्त्रीलगायतको जिम्मेवारी सम्हालेको अनुभव छ भने नेम्वाङले कानुन, न्याय तथा संसदीय, सामान्य प्रशासन मन्त्रालयलगायतमा नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको थियो । पौडेल र नेम्वाङ दुवै पूर्व सभामुखसमेत हुनुहुन्छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij