उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने आयोगको भनाइले गठबन्धन दलभित्र अन्योल

उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने आयोगको भनाइले गठबन्धन दलभित्र अन्योल

काठमाण्डाै – निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने बताएपछि गठबन्धन दलहरु अन्योलमा परेका छन् ।

आयोगले खस–आर्य पुरुष बाहेकका समुदाय वा लिङ्गबाट उपराष्ट्रपतिमा मनोनयन गराउन सकिने निर्णय गरेकोमा यसलाई व्याख्या गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला, त्यो पनि खसआर्यभन्दा अरु हुनुपर्ने बताएपछि सत्तारुढ दलका नेताहरु अन्योलमा परेका हुन् । यसअघि सत्तारुढ दलभित्र उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो ।

जसपा अध्यक्ष उपेन्द्र यादव बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपचुनाव लड्ने योजनामा हुनुहुन्छ । तर आयोगले महिला नै हुनुपर्ने बताएपछि जसपा अध्यक्ष यादव र गठबन्धनका अरु नेताहरु अलमलमा परेका छन् ।

जसपाका नेताहरुले हिजो आयोगका पदाधिकारीलाई भेटेर संविधानले राष्ट्रपतिमा एउटा समुदायको व्यक्ति निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा अर्को समुदायबाट पुरुष नै उठाउन दिएको तर्क गरेका थिए ।

कांग्रेस र माओवादीका नेताहरुले पनि प्रमुख निर्वाचन आयुक्त थपलियालाई फोन गरेर आयोगको निर्णयबारे जिज्ञासा राखेका थिए ।  थपलियाले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने जवाफ दिएपछि गठबन्धनले निर्णय गर्न सकेको छैन । गठबन्धनभित्र रहेका केही दलले जसपालाई उपराष्ट्रपति नदिन दबाब पनि बढाएका छन् ।

जनमत पार्टीले ममता झालाई उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । नागरिक उन्मुक्तिले पनि अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो, तर उपराष्ट्रपति उम्मेदवारका लागि चाहिने ४५ वर्ष उमेर पूरा नभएकाले उहाँले मनोनयन दर्ता गर्न नपाउने हुनुभएको छ ।

जसपाले भने यसअघिको निर्णयअनुसार रामसहायप्रसाद यादवलाई नै उम्मेदवार बनाउने बताएको छ । आयोगले महिला उम्मेदवार हुनुपर्ने बताएपछि यसबारे निर्णय गर्न गठबन्धन दलको बैठक आज बस्दैछ । यस्तै उपराष्ट्रपतिबारे निर्णय लिनको लागि एमालेको सचिवालय बैठक पनि आज बस्दैछ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij