बुटवल
बुटवलमा शनिबारदेखि सुरु भएको २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उद्घाटन खेलमा सुदूरपश्चिम जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा बुटवल–११ देविनगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा उसले रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भएको हो ।

सुदूरपश्चिमका लागि जर्सी नम्बर–११ का फागुराम थारुको दुई तथा जर्सी नम्बर–१९ का स्वाम्या हार्दिकले गोल गरेका हुन् । खेलको सुरुवातदेखिनै रुपन्देहीमाथि हाबी देखिएको सुदुर पश्चिमका लागि पहिलो हाफको ३१ औं मिनेटमा जर्सी नम्बर ११ का फागु चौधरीले करिब ३० यार्ड टाढाबाट फ्री किक प्रहार गर्दै सोझै जाली चुमाएका थिए ।
१–० अंकसँगै पहिलो हाफ सकिएको थियो । दोस्रो हाफको सुरुवाती मिनेटमै प्राप्त फ्रीकिकलाई सदुपयोग गर्दै सुदूर पश्चिमका स्वाम्या हार्दिकले बललाई जाली चुमाउँदै अग्रतालाई दोब्ब बनाएका थिए । यसैगरि खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गर्दै निरन्तर गोलको अवसर सिर्जना गरिरहेका जर्सी नम्बर ११ का थारुले दोस्रो हाफको २३ औं मिनेटमा थप एक गोल गर्दै टिमलाई ३–० को अग्रतामा पुर्याएका थिए ।
दोस्रो हाफको अतिरिक्त समयको अन्तिम समयमा रुपन्देहीले सान्त्वना गोल गर्न सफल भएको थियो । सुदूरपश्चिमको डी एरिया भित्र फौल भएपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रुपन्देहीका जर्सी नम्बर ७ का फोडे फोफोनाले गोल गरेका हुन् । प्रतियोगितामा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ दी म्याच घोषित भए ।
भोलि आइतबारको खेल हिमालयन शेर्पा र थ्री सटारका बीच हुने छ । प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले गर्नुभएको हो । प्रतियोगिताको संरक्षक बुटवल उपमहानगरपालिका रहेको छ ।
दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।
प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवलमा खेलकुद क्षेत्रको विकासका लागि पौने तीन करोड रुपया बिनियोजन गरेको जानकारी गराए ।
तिलोत्तमा गोल्डकप बुटवलको गौरव भएको भन्दै उनले आफ्नो कार्यकालमा तिलोत्तमा गोल्डकपलाई निरन्तरता दिने बताए ।
रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा संबिधान सभा सदस्य जगदिशनर सिंह केसी,अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष दिर्घ बहादुर केसी,लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिब जयप्रकाश भट्टराई लगायतले तिलोत्तमा गोल्डकपको महत्वबारे चर्चा गरेका थिए
प्रकाशित मिति : शनिबार, चैत्र ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्