बुटवल
प्रधानन्यायाधीश नियुक्ति लगायतका माग गर्दै नेपाल बार एशोसिएसनले आह्वानमा गरेको आन्दोलनका कार्यक्रम अनुसार आज बुटवलमा पनि कानुन व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।
नेपाल बार एशोसिएसन केन्द्रीय समितिकाे आह्वानमा उच्च अदालत बार एशोसिएसन बुटवलले बारको कार्यालय अगाडि विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
उच्च अदालत बार एशोसिएसन बुटवलका अध्यक्ष कैलाशचन्द्र ज्ञवालीको अध्यक्षता र नेपाल बार एशोसिएसन केन्द्रीय समिति उपाध्यक्ष पशुपति भण्डारीकाे प्रमुख आतिथ्यतामा आइतबार दिउँसो २ बजेदेखि ३ बजेसम्म धर्ना दिइएको उच्च अदालत बार एशोसिएसन बुटवलका सचिव राजन नेपालले जानकारी दिए ।
आइतबारदेखि सुरु भएको विरोध प्रदर्शन एक हप्तासम्म चल्ने सचिव नेपाललेे बताए ।
प्रदर्शनकारीहरूले स्वतन्त्र न्यायपालिकाको रक्षा गराै,न्यायालय भित्रकाे भ्रष्टाचार,विकृति विसंगति अन्त्य गर,पुर्ण स्वचालित पेशी ब्यवस्थापन प्रणाली लागू गर,प्रधानन्यायाधीशकाे नियुक्ति अविलम्ब गर,सर्वोच्च अदालत लगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर,संबैधानिक दायित्व पुरा गर,संबैधानिक परिषदकाे बैठक अविलम्ब बाेलाउ,संसदीय सुनुवाइ समिति गठन गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाउनुपर्ने माग राखी यसअघि सरकारको ध्यानाकर्षण र दबावमूलक कार्यक्रम गर्दै आएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाए पनि उक्त बैठकले प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्न सकेन । त्यसपछि फेरि बारले दबावमूलक आन्दोलन अघि बढाएको हो ।
प्रमुख दलहरुबीच संवैधानिक परिषदसम्बन्धी विधेयकमा नै मत बाझिएको छ । त्यसैले संसदबाट विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्ति सिफारिस हुन सकेको छैन । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।
नेपाल बार एशोसिएसनको केन्द्रीय समिति र विभिन्न अदालतको बार इकाइहरुले पनि प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै धर्ना र आन्दोलन गरेका छन् ।
प्रकाशित मिति : आइतबार, बैशाख १७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्