काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा महतले भने, “सेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ। त्यसैले पिन बोर्डको जिम्मेवारी र दायित्व बढेको छ।”
उनले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताए। उक्त जिम्मेवारीलाई उच्च महत्वका साथ धितोपत्र बोर्डले काम गर्नेछ र यसलाई अझ उचाइमा पुर्याउनेमा उनले विश्वास व्यक्त गरे।
धितोपत्र बोर्डले नियमनको काम प्रभावकारी रूपमा गर्नुपर्ने भन्दै उनले सेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने बताए।
“आगामी आर्थिक वर्षका लागि आय तथा व्यय प्रस्तुत गर्दा सेयर बजारको विषयमा व्यवस्थाको उद्देश्य आम लगानीकर्तालाई आयकरको दायरामा ल्याउने होइन, यस विषयमा जुन हल्ला चल्यो त्यो गलत हो”, उनले भने।
सेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न नहुने भन्दै उनले पुँजीबजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेहरुको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी भएको बताए।
“सेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ। कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश विषय छ। धितोपत्र बोर्डलाई ‘अटोमेटेट सिस्टम’ लैजानुपर्छ”, उनले भने, “हरेक क्रियाकलापलाई कागजरहित बनाउने र कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिता गर्नेलगायतका कुरामा उच्च सर्तकता धितापत्र बोर्डले अपनाउनुपर्छ।”
सेयर बजारलाई स्वस्थ्य बनाउन नेपाल राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ। “सेयर बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम हामीबाट हुँदैन, तर सीमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने र नाम भने ५६ लाख लगानीकर्ताको लिने प्रवृत्तिको अन्त्य जरुी छ”, उनले भने।
सूचना प्रविधिको भरपुर उपयोग गर्न अर्थमन्त्री डा महतले सुझाव दिए। उनले धितोपत्र बोर्ड छिट्टै आफ्नै भवनमा सर्नका लागि अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने बताए।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्