संसद् बैठककाे आकस्मिक समयमा रित्तो बाल्टिनदेखि चट्याङसम्मका कुरा

संसद् बैठककाे आकस्मिक समयमा रित्तो बाल्टिनदेखि चट्याङसम्मका कुरा

काठमाण्डाै – प्रतिनिधि सभामा दाङ र बाग्लुङमा चट्याङबाट भएको जनधनको क्षति, बाढीपहिरोका घटना, सप्तरीमा अन्तरजातीय विवाहपछि उत्पन्न विवाद र जिल्ला निर्वाचन कार्यालयको खारेजीसम्बन्धी प्रश्नका विषयले प्रवेश पाएको छ । सभामुख देवराज घिमिरेले सदन प्रारम्भ भएको घोषणा गर्नासाथ आकस्मिक समय माग गर्दै सांसद दीपक गिरीले दाङ र बाग्लुङमा चट्याङबाट चार जनाको ज्यान गएको घटनाबारे बैठकलाई जानकारी गराउनुभयो ।

उहाँले दाङमा दुई दिनअघि किसान रामनारायण चौधरी र समीर केसीको चट्याङबाट ज्यान गएकाे तथा रुपा राना घाइते भएको जानकारी दिँदै पीडित प्रतिपरिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउन माग गर्नुभयो ।

केही दिनअघि बाग्लुङमा दुई जना बालक दिनेश विक र सुनिता विकको पनि चट्याङबाट ज्यान गएकाे थियाे । हरेक वर्ष चट्याङका कारण  ज्यान गइरहेकाे तथा अघल्लो वर्ष ५५ जनाको चट्याङबाट ज्यान गएकाे र एकसय ४४ जना घाइते भएका तथ्याङ्क सदनलाई उहाँले जानकारी गराउनुभयो ।

अहिले सरकारले प्रतिमृतक परिवारलाई क्षतिपूर्ति र राहतबापत दुई लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । वर्षातसँगै देशका विभिन्न भागमा भएको बाढी, पहिरो, चट्याङ र सडक दुर्घटनामा प्रदेशमन्त्री लगायत ज्यान गुमाएका सबै परिवारजनप्रति उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

सांसद रघुजी पन्तले प्रहरी, प्रशासन र अदालत समेतले आवश्यक ध्यान नपुर्याउँदा सप्तरीमा एक जोडी युवायुवती अन्तरजातीय प्रेम विवाह गरिएकै कारण समस्या झेल्न बाध्य बनाइएको घटना सुनाउनुभयो ।

प्रेममा रहेका युवायुवतीमध्ये कथित माथिल्लो जाति समुदायबाट नक्कली नयाँ जन्म दर्ता बनाइ छोरीलाई नाबालक तुल्याएर केटा पक्षलाई दुःख दिने काम भएको जनाउँदै उहाँले भन्नुभयो, ‘यस घटनामा प्रहरी, प्रशासन, अदालतले पनि ध्यान नपुर्याएको देखिन्छ ।’

अन्तरजातीय विवाहपछि उत्पन्न घटनालाई न्यूनीकरण गर्न समाजमा जनचेतना अभिवृद्धि गर्ने कार्यमा राजनीतिक दलले आवश्यक ध्यान नपुर्याएको भन्दै नेता पन्तले दोषीलाई कारबाहीको माग गर्नुभयो ।

सांसद पूर्णबहादुर घर्तीले मनसुन आगमनसँगै देशका विभिन्न भागमा बाढी, पहिरोले क्षति पुर्याएको जानकारी दिँदै पुल र सडकमा क्षति पुर्याउनुका साथै बस्ती जोखिममा पारेको बताउनुभयो ।

सांसद सन्तोष परियारले आउँदाे आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा जिल्ला निर्वाचन खारेज गर्ने निर्णयले लोकतन्त्रलाई बलियो तुल्याउन नसक्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा मात्र राजनीतिक दलको आन्दोलनले लोकतन्त्र स्थापना गरेको होइन, याे कार्यालय सीडीयो मातहत राख्दा लोकतन्त्र अप्ठ्यारोमा पार्छ । निर्णयलाई सच्याउन आवश्यक छ ।’

सांसद धनबहादुर बुढाले से–फोक्सुण्डो क्षेत्रमा रहेको गुम्बाबाट  करोडौँ मूल्य बराबरको पुराना गरगहना चोरी भएकाले त्यसको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अब्दुल खानले जन्मसिद्धलाई नागरिकता प्रदान गर्ने विषयलाई सरल र सहज बनाउन माग गर्नुभयो ।

सांसद रमा कोइरालाले संसद् भवनको मूलद्वार नजिक सधैँभरि रित्ता बाल्टिन देख्न परेको र त्यसले सुरुमै ‘अशुभ’ को लक्षण दिने गरेकाले त्यसको व्यवस्थापन गर्न सुझाव दिनुभयो ।

संसद् भवनको एक पाखामा पानी चुहिने भएकाले पानी थाप्न ती बाल्टिन प्रयोग भएको हुनसक्ने बताउँदै उहाँले राज्यको महत्त्वपूर्ण पूर्वाधारका रुपमा रहेको यस भवनको संरक्षणका लागि विशेष ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति : सोमबार, असार ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij