भैरहवा,
रूपन्देहीको गैडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरुको बालिका बीमा गर्ने भएको छ । ‘छोरी बचाउ छोरी पढाउ अभियान’ अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बाल विवाह रोक्नका लागि गाउँपालिका अध्यक्ष बालिका बीमा योजना निर्देशिका २०८१ मा उल्लेख भए बमोजिम पालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले बालिका बीमा कार्यक्रम ई–टेण्डरबाट खोलेर सम्झौता गरिएको बताए । उनले बालिकालाई शिक्षित बनाउन र बाल विवाह रोक्नका लागि बीमा कार्यक्रमले भूमिका खेल्ने बताए ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उप–प्रमुख कृष्ण प्रसाद पोख्रेलले बालिका बीमाले गैडहवामा जन्मिएका बालिकाको अभिभावक (बुवा वा आमा) को जाखिम बहन हुने गरी एकल भुक्तानीमा बालिका बीमा भएको बताए । उनले २० वर्षभित्र बालिकाको बुवा वा आमाको दुर्घटना वा कालगतिबाट मृत्यु भएमा कम्पनीको नियम अनुसार गाउँपालिकाको सिफारिस अनुसार बालिकालाई एकमुष्ठ भुक्तानी गरिने बताए ।
सम्झौतापत्रमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा र निजहरुले रिफर गरेकाहरुमध्ये छोरी जन्मिएकालाई मात्र यो बीमा योजनामा आबद्ध गराउनुपर्ने छ । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका बासिन्दालाई मात्र समावेश गराउनुपर्ने छ । रु. २० हजार रुपैयाँ मात्र एकमुष्ठ एकपटकको लागि मात्र बीमा शुल्क दिइने छ । बालिकाको उमेर २० वर्षसम्म पुग्दा अविवाहित रहेको सम्बन्धित वडा कार्यालयको प्रमाणसहित गाउँपालिकाको सिफारिसको आधारमा मात्र बिमितलाई भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ ।
कम्पनी र पालिका बीचमा भएको सम्झौता अनुसार बालिकाको एकमुष्ठ २० वर्षका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.मा गाउँपालिकाले बिमा गरेको छ । यदि बालिकाको २० वर्ष अगावै विवाह भएमा उक्त रकम गाउँपालिकाकै खातामा जम्मा हुने अर्थात अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा शर्त राखिएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को बजेटमा बालिका बिमाका लागि रु.२५ लाख बजेट बिनियोजन गरेकोे छ ।
प्रकाशित मिति : मंगलबार, असोज २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्