बाजुरा,
राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना गरेका छन् । यहाँको त्रिवेणी नगरपालिका–७ स्थित ऐतिहासिक नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको आज उद्घाटन गदैए उनले परापूर्वकालदेखि बडिमालिका क्षेत्रका यी पवित्र धार्मिकस्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको आफूले सुन्दै आएको बताए । उनले भने, “आज म यस पुण्यभूमिमा उभिएर प्रार्थना गर्दछु–सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस् ।” राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस भएको बताए । उनले भने, “नाट्यश्वरी देवीको मन्दिर प्राङ्गणमा उभिएर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको अद्वितीय छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु ।”
बाजुरावासीले आफूलाई ‘विपन्नतामा छौँ’ भन्ने भावना नराख्न आग्रह गर्दै उनहाँले यस ठाउँको कृषि, पर्यटनको विकास हुने विश्वास व्यक्त गरे। राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामले एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए ।
उनले भने, “बाजुरामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक धरोहर हुँदाहुँदै पनि विकास र समृद्धिमा पछाडि परेको छ, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जाने विश्वास व्यक्त गर्दछु । ” त्रिवेणीमा अवस्थित बडिमालिका दिव्यधामलाई नेपालकै एक अलौकिक धरोहरका रूपमा लिइने र यस्तो दिव्यधाममा आएर बडिमालिकाको दर्शन र नाट्यश्वरी देवीको दर्शन गर्न पाएकामा उनले खुसी प्रकट गरे ।
राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्र धार्मिक, पर्यटकीय, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक सुरम्य स्थलका रूपमा रहेको बताए । “यहाँका अलौकिक, प्राकृतिक सम्पदा जस्तैः कस्तुरी, मृग, झारल, घोरल, बाघ, भालु, विभिन्न चराचुरुङ्गी, डाँफे, मुनाल साथै अमूल्य जडीबुटीहरूले सु–शोभित पुण्यभूमिको आरक्षण र यस क्षेत्रको विकास जरुरी छ भन्ने मलाई लागेको छ, यसका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भने।
यस दिव्यधामको सानिध्यमा रहेका त्रिवेणी, मौर्या क्षेत्र र नाट्यश्वरी देवीको मन्दिर नेपालको प्रसिद्ध धार्मिकस्थल हो । बडिमालिका दर्शनपछि नाट्यश्वरी मन्दिरमा आएर दर्शन गर्ने मान्यतासमेत रही आएको छ । स्कन्धपुराणको मानस खण्डमा यस स्थलको उल्लेख गरेको पाइन्छ । यसअघि आज बिहान राष्ट्रपति पौडेलले प्रसिद्ध धार्मिकस्थल बडिमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नुभएको थियो । सो अवसरमा प्रथम महिला सबिता पौडेल सहभागी थिए ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्