काठमाण्डाै – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा सडक एकतर्फी खुलेको छ । विनयी खोलामा आएको बाढीले गएराति अस्थायी डाइभर्सन भत्काएपछि सडक दुईतर्फी नै अवरुद्ध भएको थियो ।
सोमवार खोलामा बाढी आएपछि भत्काएको डाइभर्सन हिजो दिउँसो बनाएकोमा गएराति फेरि बगाएको थियो । अहिले सडक एकतर्फी खुलेसँगै गाडीहरू वारपार भइरहेका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।
लामो समय सडक अवरुद्ध भएको र सडक चिप्लो भएकोले पश्चिम नवलपरासीको बर्दघाटबाट दुम्कीबास र दुम्कीबासबाट पूर्वी नवलपरासीको चोरमारासम्म ४५ किलोमिटर लामो जाम भएको थियो । गएरातिदेखि जाममा परेका गाडीहरू अहिले बिस्तारै आफ्नो गन्तव्यतर्फ जान थालेका छन् । साना गाडी र यात्रुवाहक बसलाई पहिलाे प्राथमिकतामा राखेर पठाइरहेकाे डीएसपी पन्तले जानकारी दिनुभयो ।
अहिले त्यस क्षेत्रमा इन्जिनियरसहितको टोली परिचालन गरेर छिटोभन्दा छिटो दुईतर्फी गाडी चल्न सक्नेगरी मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यसैबीच देशभरका मुख्य राजमार्गअन्तर्गत पाँच ठाउँमा पूर्ण अवरुद्ध छ । नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारी, कोप्लाङ र लार्चामा पहिरो खसेका कारण सडक पूर्णरूपमा अवरुद्ध छ ।
यस्तै भेरी करिडोरअन्तर्गत डोल्पाको छलघाट र गोकुलेश्वर–खलङ्गा सडकअन्तर्गत दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ मा सडक पूर्णरूपमा अवरुद्ध छ । यसैगरी रवि राके भेडेटार सडकअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५, कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको बर्लबा र जुम्ला–मुगु सडकअन्तर्गत जुम्लाको चुलेगाँउमा एकतर्फ गाडी चलिरहेको प्रहरीले जनाएको छ ।
यसैबीच लमजुङको बेंसीशहरबाट मनाङकाे चामे जोड्ने सडक खुलेको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा मनाङ पुग्ने एकमात्र सडक बन्द भएको थियो । लमजुङ खण्डमा पर्ने मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ४ च्याम्चे नजिकै पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध थियो । पहिरो पन्छाएपछि दिउँसोदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । सडक खुले पनि जोखिम रहेकोले सावधानीपूवर्क यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
प्रकाशित मिति : बुधबार, असार ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्