काङ्ग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

काङ्ग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

काठमाडौ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान शुरु भएको छ । जननायक बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको दिवस पारेर जागरण अभियान आजदेखि शुरु भई आगामी असोज ७ गते समापन हुनेछ ।

जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिने पार्टी कार्यालयले जनाएको छ । जसअनुसार आज बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर अभियानको देशव्यापीरूपमा उद्घाटन गरिएको छ ।

अभियानको उद्घाटनमा सम्बोधन गर्न काङ्ग्रेसका केन्द्रीय पदाधिकारीसमेत विभिन्न जिल्लामा खटिएका छन् । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशाङ्क कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्नेछन् ।

अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । अभियानका लागि काङ्ग्रेसले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक÷एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

प्रवक्ता शर्माले भने, “अभियानका औपचारिक कार्यक्रम छरितो हुने र वक्ता सीमित सङ्ख्या तथा बढी अन्तक्र्रियात्मक हुनेछन् । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका कार्यक्रम निर्धारण गरिएको छ ।”

अभियानका क्रममा नागरिक पङ्क्तिमा स्थानीय तहमा वडास्तरीय सामाजिक संवाद कार्यक्रम, सामाजिक विसङ्गतिविरूद्ध जागरण, युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिनेछन् । अभियानका कार्यक्रममध्ये वडास्तरीय अन्तक्र्रियामा पार्टी सुदृढीकरण र प्रभाव विस्तारका सन्दर्भमा गाउँ–गाउँमा रहेका नेता कार्यकर्ताको भावना बुझ्न महत्वपूर्ण हुने काङ्ग्रेसको बुझाइ छ ।

जागरण अभियानको अवधिमा पर्ने संविधान दिवस असोज ३ गते विभिन्न कार्यक्रम गर्ने, जागरणको अन्तिम दिन असोज ७ गते बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक भनिएका विधेयक र कुशासनका विरुद्ध जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गरिने उनले बताए ।

यसअघि काङ्ग्रेसले ७७ वटै जिल्लामा गत वैशाख २५ देखि जेठ २५ गतेसम्म अभियानको प्रथम चरण सम्पन्न गरेको थियो भने अभियानको तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भएर पुस १६ गते मेलमिलाप दिवसमा समापन हुने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij