अन्य विषय पढेकाले पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिन पाउने

अन्य विषय पढेकाले पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिन पाउने

काठमाडौं : शिक्षा संकायबाहेक अन्य विषय पढेकाले पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिन पाउने भएका छन्। शिक्षक सेवा आयोगले हिजो(शनिबार) सार्वजनिक गरेको विज्ञापनमा अन्य विषय अध्ययन गरेकाले पनि दरखास्त आवेदन दिन पाइने उल्लेख छ।

 

आयोगले शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम् योग्यता पुगेका र तोकिए बमोजिमको तालिम प्राप्त गरेकाले माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिन पाइने भनेको छ।

उक्त नियमावली (संशोधनसहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) मा माध्यमिक विद्यालयको शिक्षकको लागि सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालिम लिएको हुनुपर्ने व्यवस्था छ।

 

यस्तै, नियम ९ को उपनियम (७) भनिएको छ,‘उपनियम (१) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, पशुपालन वा वाली विज्ञान विषयमा स्नातक गरेका व्यक्तिले सो खण्ड बमोजिमको तालिम नलिए पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र वा शिक्षक पदको लागि लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछ।’

उक्त व्यवस्था अनुसार शिक्षा संकायबाहेकका इन्जिनियरिङ अध्ययन संस्थान/शंकाय,विज्ञान तथा प्रविधि अध्ययन संस्थान/संकाय,मानविकी तथा सामाजिक शास्त्र संकाय लगायतको विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, पशुपालन वा वाली विज्ञान विषयमा स्नातक गरेका व्यक्तिले माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिन पाउने छन्।

यसका लागि इच्छुक व्यक्तिहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन दरखास्त दिन सक्ने छन्। सरकारले नै अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने व्यवस्था नै गर्दैछ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिले असार १५ गते भएको शिक्षा विधेयकमाथिको छलफलमा ‘विद्यालय तहको शिक्षक’ हुन जुनसुकै विषय पढेकाले पनि अध्ययन अनुमतिपत्र लिन पाउने सहमति गरिसकेको छ।

जसअनुसार ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मै यो व्यवस्था गरिएकाले जारी भएपछि जुनसुकै विषय पढेका व्यक्ति अबदेखि शिक्षक हुन पाउनेछन्। २०८० जेठ १५ गते सरकारले आव २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अध्यापन अनुमतिपत्रको परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइने घोषणा गरेको थियो।

कात्तिक २२ गते परीक्षा सञ्चालन

आयोगले जारी गरेको सूचना अनुसार आगामी कात्तिक २२ गते दिउँसो १ बजेबाट माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षा सञ्चालन हुने छ। यो सूचना प्रकाशित भएको मितिदेखि भदौ २९ गतेसम्म आवेदन दिन पाइने छ। दस्तुर एक हजार तोकिएको छ।

दोब्बर दस्तुरमा असोज ५ गतेसम्म फारम भर्न पाइने छ। प्रदेश राजधानी रहेको जिल्ला र आयोगले आवश्यकता अनुसार तोकेको अन्य जिल्लाहरूमा परीक्षा केन्द्र रहने आयोगले जनाएको छ।

‘अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं तोकिएका कागजातहरू पेस गरी राजश्व दस्तुर बुझाई सकेपछि पेस गरिएका कुनै कागजात परिमार्जन/संशोधन तथा थपघट गर्न नसकिने बेहोरा समेत सूचित गरिन्छ, व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त पेस गर्नुपर्ने छ, उम्मेदवारले पेस गरेका कुनै पनि प्रमाणपत्रहरू रुजु गर्ने क्रममा यस परीक्षाको नतिजा प्रकाशनका बखतसम्म पनि फरक परेमा वा अन्यथा पाइएमा आयोगबाट त्यस्ता दरखास्त रद्द गरिने छ,’सूचनामा उल्लेख छ।

प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij