काठमाडौं
संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो। कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ। थुनामा राखेका उनीहरूको दण्ड जरिवानी तिरेर भए पनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिनभयो। थुनामा रहेका ती नागरिकका लागि ५४ लाख जरिवान तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दूतावासको भनाइ छ। त्यसैगरी, समितिले उनीहरूलाई अवैधानिक ढंगले कुवेत पुर्याउने म्यान पावर कम्पनीमाथि पनि कडा कार्वाही गर्न सरकारलाई सचेत गराएको छ। सरकारले भने कवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भइरहेको जनाएको छ। परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरूलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको बताउनुभयो। उहाले समितिको बैठकमा उनीहरूमाथि तोकिएको दण्ड जरिवाना मिनाहा गर्न पनि कुवेत सरकारसँग नेपाली दूतावासले कुरा गरिरहेको पनि जानकारी दिनुभयो। बैठकमा समितिका सदस्यहरूले कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका ती नागरिकलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो। समितिका सदस्य प्रकाश रसाईलीले कुवेतमा बन्धक बनाइएका नेपाली कामदारलाई तत्काल फिर्ता गराउन पनि सरकारलाई सचेत गराउनुभयो। समितिका सदस्यहरूले नेपाली कामदारलाई अवैधानिक ढंगले वैदेशिक रोजगारमा लग्ने म्यानपावर कम्पनीको छानविन गरी कडा कार्वाही गर्न पनि सरकारसँग माग गर्नुभएका थियोे
प्रकाशित मिति : आइतबार, मंसिर १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्