जीतगढी विजय उत्सवको आज शुभारम्भ

जीतगढी विजय उत्सवको आज शुभारम्भ

बुटवल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गर्नुभएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो ।

उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण, प्रवद्र्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

वि।सं। १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको छ । युद्धकला, साहस र रणनीतिक कौशलका आधारमा नेपाली सेनाले विजय हासिल गरेको उक्त घटनाले नेपाललाई विश्वमा ‘वीर गोर्खाली’ को रूपमा चिनाएको इतिहासमा उल्लेख छ ।

बुटवलको तिनाउ नदी किनारस्थित जीतगढी क्षेत्रमा भएको युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गर्नुभएको थियो भने अंग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गर्नुभएको थियो । उक्त युद्धमा नेपाली सेनाका तीन गण सहभागी थिए । इतिहासविद्का अनुसार युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए ।

युद्धका क्रममा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए ।

इतिहास अनुसार कर्णेल उजिरसिंह थापाले युद्धअघि विजय प्राप्त भए भगवती मन्दिर निर्माण गर्ने भाकल गर्नुभएको थियो । युद्धमा विजयपछि पाल्पामा उक्त मन्दिर निर्माण गरिएको र अहिले पनि हरेक वर्ष भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ ।

चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको यो किल्ला सेनकालीन समयमा १६ औं शताब्दीमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धमा विजय हासिल गरेपछि यसको नाम ‘जीतगढी’ रहन गएको स्थानीय जानकार बताउँछन् ।

प्रकाशित मिति : सोमबार, बैशाख ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij