तिलोत्तमा –जातीय विभेद तथा छुवाछुत नेपालको संविधान, कानुन र अन्तर्राष्ट्रिय मानवअधिकारका सिद्धान्तले पूर्ण रूपमा निषेध गरेको अमानवीय सामाजिक व्यवहार हो। कानुनी रूपमा दण्डनीय भए पनि यसको प्रभाव समाजका विभिन्न तहमा अझै पनि देख्न सकिन्छ । विशेषगरी सामाजिक व्यवहार, धार्मिक गतिविधि, अन्तरजातीय सम्बन्ध, सार्वजनिक सेवा तथा अवसरको पहुँचमा विभेदका घटना समय–समयमा सार्वजनिक भइरहेका छन्। यस यथार्थलाई परिवर्तन गर्न कानुन मात्र पर्याप्त हुँदैन। जनचेतना, सामाजिक संवाद, सकारात्मक सोच, व्यवहार परिवर्तन र सामूहिक अभियान अपरिहार्य हुन्छन्। यही आवश्यकतालाई मध्यनजर गर्दै तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक जागरण विकास मञ्चको व्यवस्थापनमा ूजातीय विभेद विरुद्ध जनचेतनामूलक डकुमेन्ट्री निर्माण कार्य सञ्चालन भइरहेको छ । डकुमेन्ट्री केवल एउटा दृश्य सामग्री होइन, सामाजिक रूपान्तरणको अभियान हो। यसले जातीय विभेदको वास्तविक अवस्था, पीडित समुदायका अनुभव, जनप्रतिनिधिको धारणा तथा भविष्यमा अपनाउनुपर्ने उपायलाई एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।

तिलोत्तमा नगरपालिकामा जातीय अवस्थाको यथार्थ
तिलोत्तमा नगरपालिका विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा बस्ती हो। यहाँ सामाजिक सद्भाव कायम रहे पनि केही क्षेत्रमा जातीय विभेदका अवशेष अझै भेटिन्छन्। विशेषगरी परम्परागत सोच, सामाजिक संस्कार तथा केही व्यवहारमा विभेदका संकेत देखिन्छन्। कतिपय दलित समुदाय अझै सामाजिक अवसर, सम्मान, निर्णय प्रक्रियामा सहभागिता तथा आर्थिक सशक्तीकरणका सवालमा चुनौती झेलिरहेका छन्। शिक्षा, रोजगार र सार्वजनिक सेवामा पहुँच बढ्दै गए पनि मानसिक रूपमा विभेदरहित समाज निर्माण गर्ने यात्रा अझै अधुरो छ। यसकारण समाजको वास्तविक अवस्था तथ्यसहित अभिलेखीकरण गर्दै नागरिकलाई सोच्न बाध्य बनाउने माध्यमका रूपमा डकुमेन्ट्रीको महत्व अत्यन्त ठुलो छ।
जनप्रतिनिधिको भूमिका
स्थानीय सरकार सामाजिक परिवर्तनको सबैभन्दा प्रभावकारी तह हो। जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन, नीति निर्माण, बजेट विनियोजन, जनचेतना अभिवृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। डकुमेन्ट्रीमा सहभागी जनप्रतिनिधिहरूले जातीय विभेद अन्त्यका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै समान अवसर, समावेशी विकास तथा सामाजिक न्यायलाई प्राथमिकतामा राख्ने धारणा प्रस्तुत गरिरहेका छन्। स्थानीय सरकारले विकासलाई पूर्वाधारमा मात्र सीमित नराखी सामाजिक रूपान्तरणसँग जोड्दा मात्र समावेशी समाज निर्माण सम्भव हुन्छ भन्ने सन्देश यस अभियानले प्रवाह गर्नेछ ।

आगामी दिनमा सञ्चालन गर्नुपर्ने कार्यक्रम र अभियान
जातीय विभेद अन्त्यका लागि एकपटकको कार्यक्रम पर्याप्त हुँदैन। निरन्तर अभियान आवश्यक हुन्छ । विशेषगरी निम्न कार्यक्रम प्रभावकारी हुन सक्छन् विद्यालयस्तरदेखि नै समानता र मानवअधिकार सम्बन्धी शिक्षा, वडास्तरीय सामाजिक संवाद तथा अन्तरक्रिया, अन्तरजातीय सद्भाव तथा सहकार्य कार्यक्रम, युवा तथा महिलालाई लक्षित सचेतनामूलक अभियान, विभेदविरुद्ध कानुनी परामर्श तथा सहायता केन्द्र सञ्चालन, स्थानीय सञ्चारमाध्यममार्फत नियमित जनचेतना प्रसारण, विभेदमुक्त वडा घोषणा अभियान, दलित समुदायको आर्थिक सशक्तीकरण तथा सीप विकास कार्यक्रम, धार्मिक तथा सामाजिक अगुवासँग सहकार्य, विभेदका घटनाको सहज उजुरी तथा छिटो न्याय सुनिश्चित गर्ने संयन्त्र । यस्ता अभियानले समाजमा व्यवहारगत परिवर्तन ल््याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ ।
जनचेतनामूलक डकुमेन्ट्रीले पार्ने सम्भावित प्रभाव
दृश्य सामग्रीको प्रभाव लेख वा भाषण भन्दा धेरै गहिरो हुन्छ। वास्तविक पात्र, वास्तविक अनुभव र तथ्यमा आधारित डकुमेन्ट्रीले दर्शकको मनमा प्रत्यक्ष प्रभाव पार्छ। यस डकुमेन्ट्रीबाट समाजमा निम्न सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । जातीय विभेदको वास्तविक अवस्था सबै नागरिकसम्म पुग्नेछ, विभेदविरुद्ध बोल्ने र प्रतिवाद गर्ने आत्मविश्वास बढ्नेछ, कानुनी अधिकारप्रति नागरिक सचेत हुनेछन्, जनप्रतिनिधि तथा सरोकारवालाको उत्तरदायित्व अझ स्पष्ट हुनेछ, दलित समुदायका अनुभव समाजले नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नेछ, अन्तरजातीय सम्मान र सहअस्तित्वको भावना विकास हुनेछ, युवापुस्तामा समानताको सकारात्मक सोच विस्तार हुनेछ, स्थानीय सरकारले सामाजिक न्यायका कार्यक्रमलाई थप प्राथमिकता दिने आधार तयार हुनेछ । यसरी डकुमेन्ट्री केवल सूचना दिने सामग्री नभई व्यवहार परिवर्तन गराउने सामाजिक अभियान बन्न सक्छ। जातीय विभेद अन्त्य गर्नु कुनै एक संस्था, समुदाय वा सरकारको मात्र जिम्मेवारी होइन। यो सम्पूर्ण समाजको साझा दायित्व हो। समानता, सम्मान, न्याय र मानव मर्यादामा आधारित समाज निर्माणका लागि सबै पक्षले हातेमालो गर्नुपर्छ। तिलोत्तमा नगरपालिकामा निर्माण भइरहेको ूजातीय विभेद विरुद्ध जनचेतनामूलक डकुमेन्ट्री समयानुकूल, सान्दर्भिक र दूरगामी महत्वको अभियान हो। यसले वर्तमान सामाजिक अवस्थालाई अभिलेखीकरण मात्र गर्ने छैन, आगामी पुस्तालाई विभेदरहित समाज निर्माणका लागि प्रेरणा दिनेछ। जब समाजले विभेद होइन, समानतालाई स्वीर्काछ जब पहिचान होइन, मानवतालाई प्राथमिकता दिन्छ तब मात्र समावेशी, न्यायपूर्ण र सभ्य समाज निर्माण सम्भव हुन्छ । यही लक्ष्यतर्फ यो डकुमेन्ट्री एउटा सशक्त कदम बन्ने विश्वास गर्न सकिन्छ ।
प्रकाशित मिति : शुक्रबार, असार १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्