बुटवल । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षाको प्रक्षेपरण गरेपछि रुपन्देहीमा विपद प्रतिकार्यलाई तयारी अवस्थामा राखिएको छ सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै रुपन्देही प्रशासनले जोखिम न्यूनीकरणको पूर्व तयारी, प्रतिकार्य र उद्दारका लागि तयारी अवस्थामा रहेको हो ।
मौसम विभागका अनुसार रुपन्देहीका केही पालिकाहरु अति भारी वर्षाको जोखिममा रहेकाले सोही अनुसार तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकास अर्यालले ग्लोबल आवाजलाई जानकारी दिए । विपद् न्यूनीकरणका लागि जिल्ला स्थित सरोकारवाला सरकारी कार्यालय प्रमुखहरु, पालिकाका जनप्रतिनिधिहरु तथा सुरक्षा निकायका सबै अंगका अधिकारीहरुसँग छलफल गरिएको अर्यालले बताए ।
सुरक्षा निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको, प्रतिकार्य, उद्धार तथा जोखिमयुक्त क्षेत्रमा सूचना प्रवाह गरि सचेत बनाउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । विशेष गरी नदी तटीय क्षेत्र र डुवान हुने ठाउँहरुमा सतर्कता अपनाउन उनले आग्रह गरे । यसैगरी निर्माणाधिन बुटवल-गोरुसिंगे सडकमा हुने जोखिम तथा राजमार्ग अवरुद्ध हुने सम्भावनालाई मध्यनजर गरी तयारी अवस्थामा रहेको उनले बताए । विपद प्रतिकार्य योजना अनुसार क्विक रेस्पोन्स तथा रेस्क्यू टोली आवश्यक संख्यामा व्यवस्था गरिएको उनले बताए ।
जिल्लाका १६ वटै पालिकाहरुमा विपद प्रतिकार्यका लागि तयारी अवस्थामा रहन स्थानीय सरकारसँग समन्वय भइरहेको उनले बताए । महाशाखाका अनुसार बंगालको खाडीको मध्य भू-भाग आसपासमा विकसित न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै उत्तर-पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले यसको प्रभाव नेपालमा समेत पर्ने देखिएको हो। यस प्रणालीका कारण विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
लगातार वर्षा हुँदा पहाडी तथा भिरालो भूभागमा भू-क्षय, पहिरो, गेग्रान बहाव तथा आकस्मिक बाढीको जोखिम बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। तराई तथा शहरी क्षेत्रमा डुबानको खतरा रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ
साना तथा ठूला नदी-नालामा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ। साथै सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य सेवा र दैनिक जनजीवन प्रभावित हुन सक्ने सम्भावनासमेत औँल्याइएको छ।
हाल धानबाली भित्र्याउने समय रहेकाले कृषकलाई कृषि प्राविधिकको सल्लाहअनुसार मात्रै काम गर्न तथा पर्वतारोहण र पदयात्रामा जानेहरूलाई मौसमको अवस्थाबारे नियमित जानकारी लिएर मात्र यात्रा गर्न महाशाखाले सुझाव दिएको छ।
प्रकाशित मिति : बुधबार, असोज ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्