काठमाडौ । देशका विभिन्न जिल्लामा डेंगु र स्क्रबटाइफस रोगको सङ्क्रमण फेला परेको छ । सन्ताउन्न जिल्लामा स्क्रबटाइफस र २७ जिल्लामा डेंगु देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सन् २०१८ को जनवरीदेखि अक्टोबरसम्मको तथ्याङ्कमा २७ जिल्लाका २२९ जनामा डेंगु रोग फेला परेको छ । उक्त अवधिमा ७७० जनामा स्क्रबटाइफसको सङ्क्रमण भएको पाइएको छ ।
एक वर्षको अन्तरालमा मकवानपुरका एक जना बिरामीको डेंगुबाट मृत्यु भएको छ भने स्क्रबटाइफसबाट गुल्मीका एकको मृत्यु भएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले जानकारी दिए ।
नेपालमा सबैभन्दा बढी कास्की जिल्लामा मात्रै १०९ जनामा डेंगुको सङ्क्रमण भेटिएको पोखरेलले जानकारी दिए। विभिन्न जिल्लाबाट हालसम्म महाशाखामा प्राप्त प्रतिवेदनअनुसार कर्णाली प्रदेशबाहेक अरु छ वटै प्रदेशमा डेंगु देखिएको छ । डेंगु नियन्त्रणका लागि अहिले ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिइएको छ ।
प्राप्त विवरणअनुसार प्रदेश नं १ को झापा र सुनसरीमा चार, प्रदेश नं २ को महोत्तरी र पर्सामा तीन, प्रदेश नं ३ को चितवनमा १३ र काठमाडौँमा १० जना तथा दोलखा, मकवानपुर, धादिङ, र काभ्रेमा गरेर १३ जना, गण्डकी प्रदेशको कास्कीमा १०९ तथा तनहुँ, गोरखा, बाग्लुङ, म्याग्दीमा पाँच, प्रदेश नं ५ को रुपन्देहीसहित विभिन्न जिल्लामा गरेर ४५ र प्रदेश नं ७ मा २७ जनामा डेंगु देखिएको छ ।
“पोखरामा केही बढी सङ्क्रमण भए पनि लगभग अहिले डेंगु नियन्त्रणमै छ”, पोखरेलले भने “अहिले धेरै क्षेत्रमा डेंगु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानलाई तीव्रता दिएका छौँ ।” लामखुट्टे भाँडोमा जमेको सफा पानी बसेर फुल पार्ने र बच्चा हुर्काउने भएकाले एक मात्रै प्रभावकारी माध्यम नै खोजेर नष्ट गर्ने रहेको महाशाखाले जनाएको छ ।
पोखरेलसहित डा प्रकाश शाह र अमर दवाडीको टोलीले कास्कीलगायत विभिन्न जिल्ला पुगेर सचेतनामूलक कार्यक्रमसहित प्रशिक्षण र समुदायको सहकार्यमा नष्ट गर्ने अभियान चलाएको छ । यसले अहिले सङ्क्रमण दरमा न्यूनीकरण हुँदै गएकाले जाडो बढ्दै जाँदा अब डेंगु घट्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले बताए।
गमला टायर, ट्युब, फुटेका भाँडा, टिन बाकस, तथा पानीट्याङ्की, कुलर फ्रिजको पछाडि पानी जम्ने भाग सफा गर्नसके र त्यस्तो ठाउँमा पानी जम्न नदिए डेंगुका लामखुट्टे नआउने हुँदा रोग सहजी न्यूनीकरण हुने उनी बताउँछन्।
महाशाखाका अनुसार अहिले आवश्यक मात्रामा डेंगु परीक्षणको किटसमेत रोग देखिएका जिल्लामा पठाइएको छ । कास्कीमा मात्रै २०० किट पठाइएको छ । अन्य जिल्लामा समेत किट पठाइएको र आवश्यक किट जगेडामा समेत रहेको महाशाखाले जानकारी दिएको छ । –रासस
प्रकाशित मिति : सोमबार, कार्तिक १९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्