काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्न लागेको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका सम्बन्धित मन्त्रीले उत्तर टेबुल गर्ने कार्यसूची रहेको छ
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम छ
यस्तै, कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
आजको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यक्रमसमेत रहेको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदबाट प्राप्त अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नेछन् । साथै, सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।
राष्ट्रियसभाको बैठक
राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका सम्बन्धित मन्त्रीले उत्तर टेबुल गर्नेछन् ।
त्यसैगरी, प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
राष्ट्रियसभाको आजको बैठकमा ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूचीसमेत रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज १६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्