‘सरकारको गलत कामको विरोध गर्दा कांग्रेसमाथि षड्यन्त्र र आक्रमण भयो’
काठमाडौँ,
नेपाली कांग्रेसले सरकारले आफ्नो असफलता र विरोधाभास लुकाउन विपक्षी दलविरुद्ध प्रायोजित षड्यन्त्र सुरु गरेको बताएको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै राज्य संयन्त्रको दुरुपयोग गरेर प्रहरी हिरासतबाटै अडियो लिक गराएको गम्भीर आरोप लगाए ।
शर्माले कांग्रेसको विशेष तथा १५औँ महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै बाहिर ल्याइएका कुराहरू ‘सरकारका तर्फबाट नियोजित र प्रायोजित भ्रम’ मात्र भएको दाबी गरे ।
प्रहरी हिरासतमा रहेका व्यक्तिको बयान बाहिरिएको विषयमा आपत्ति जनाउँदै वरिष्ठ उपसभापति शर्माले भने, ‘एक जना बिचौलियाले प्रहरी बयानको क्रममा बोलेको अडियो कसरी बाहिर आयो ? के त्यसरी बयान लिक गर्न मिल्छ ? विचौलियाको मोबाइल प्रहरीले कब्जा गरेपछि प्रधानमन्त्रीको सल्लाहकार समूहमा पुगेको विषय सार्वजनिक भएको छ, यो कुन विधि र मर्यादाभित्र पर्छ ?’
उनले सरकार र सत्तारूढ दलबिचमै कुनै मतैक्यता नरहेको भन्दै व्यङ्ग्य गरे, ‘सरकार भन्छ पार्टीको निर्देशन छ, पार्टी भन्छ हामीले कुनै निर्देशन दिएका छैनौँ। सत्ता सञ्चालकहरूकै बोली बाझिनुले उनीहरूको बदनियत प्रस्ट पार्छ।’
शर्माले पार्टी नेतृत्वका बारेमा उठाइने हरेक प्रश्नको सामना गर्न कांग्रेस तयार रहेको स्पष्ट पारे। ‘हामी निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिन होस् भन्ने चाहन्छौँ। सरकारले किस्ता–किस्तामा प्रायोजित धारणा बाहिर ल्याएर चरित्रहत्या गर्न खोज्दैछ, अनुसन्धानले तथ्य प्रमाणित गर्नुपर्छ,’ उनले भने।
उनले कांग्रेसको विशेष महाधिवेशन पार्टी विधान, राजनीतिक दल सम्बन्धी ऐन र संविधानअनुसार सम्पन्न भएको तथा निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत वैधानिकता पाइसकेको स्मरण गराए । ७ हजारभन्दा बढी प्रतिनिधिको सहभागितामा सम्पन्न १५औँ महाधिवेशनलाई विवादित बनाउने प्रयास निर्वाचन आयोग र अदालतको समेत अवहेलना भएको उनको जिकिर थियो ।
सञ्चारगृहको गेटमा गाडी तेर्स्याइएको र कांग्रेस सभापति गगन थापाको घर अगाडिसमेत अज्ञात गाडी राखिएर त्रास फैलाउन खोजिएको घटनाप्रति आपत्ति जनाउँदै उनले प्रेस स्वतन्त्रतामाथि धावा नबोल्न सरकारलाई सचेत गराए ।
जर्मन पास्टर मार्टिन निमोलरको प्रसिद्ध भनाइ उद्धृत गर्दै शर्माले पत्रकारहरूलाई प्रश्न गरे, ‘के तपाईंहरू आज सुरक्षित हुनुहुन्छ ? मिडियाको मुख थुनेर र विपक्षीलाई तर्साएर लोकतन्त्र बाँच्दैन। लोकतन्त्र चुनावले मात्र होइन, प्रेसले कति निर्भयतापूर्वक लेख्न पाउँछ भन्ने आधारमा नापिन्छ ।’
मुलुक बाढी–पहिरोको ठूलो विपद्बाट गुज्रिरहेको र १४ सयभन्दा बढी नागरिकले ज्यान गुमाएको अवस्थामा सरकार पुनर्निर्माण र राहत छाडेर राजनीतिक प्रतिशोधमा लागेको उनले बताए ।
‘बाढीपीडितलाई महिनाको १५ हजार भाडा दिने भनेको पैसा अझै पुगेको छैन। अगाडि कोप–२९ सम्मेलन छ, हिमाल पग्लिरहेको छ, यसबारे राष्ट्रिय बहस गर्नुपर्ने बेला सरकार सिंहदरबारको पटाङ्गिनीमा बसेर प्रहरी परिचालन, अडियो लिक र विपक्षी विरुद्ध अफवाह फैलाउन व्यस्त छ,’ शर्माले भने ।
शर्माले कांग्रेस जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिकामा रहेको स्पष्ट पार्दै सरकारलाई ५ वर्ष ढुक्कसँग काम गर्न वातावरण बनाउन तयार भए पनि सरकारका गलत क्रियाकलाप र अधिनायकवादी शैलीविरुद्ध निरन्तर आवाज उठाउने चेतावनी दिए।
यसैबीच नेपाली कांग्रेसले सरकारका गलत कामको विरोध गर्दा पार्टीमाथि षड्यन्त्र र आक्रमण भएको आरोप लगाएको छ । बुधबार अपरान्ह बसेको कांग्रेसको आकस्मिक पदाधिकारी बैठकपछि महामन्त्री प्रदीप पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टीले आफ्नो ८० वर्षे इतिहासमा पटक–पटक यस्ता चुनौतीको सामना गरेको उल्लेख गरिएको छ ।
कांग्रेसले सरकार पूर्णतः स्वेच्छाचारी र निरङ्कुश बन्दै गएको आरोप लगाएको छ । सरकारका असंवैधानिक कदमविरुद्ध आवाज उठाउने नागरिक र प्रतिपक्षलाई बोल्न नदिने प्रयास भइरहेको कांग्रेसको ठहर छ ।
“पछिल्ला दिनमा सरकार पूर्णतः स्वेच्छाचारी र निरङ्कुश बन्दै असंवैधानिक कदमविरुद्ध उठ्ने नागरिक र प्रतिपक्षका आवाज थुन्न उद्यत छ । अपारदर्शी निर्णय, पत्रकारमाथि धरपकड र संवैधानिक निकायमाथिको नियन्त्रणले सरकारको अलोकतान्त्रिक चरित्र उजागर गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “सरकारका गलत कामको विरोध गर्दा कांग्रेसमाथि षड्यन्त्र र आक्रमण हुनु नयाँ होइन; ८० वर्षे इतिहासमा हामीले यस्ता चुनौती पटक–पटक सामना गरेका छौँ ।”
कांग्रेसले पार्टीलाई बदनाम गर्ने सुनियोजित प्रयास भइरहेको पनि जनाएको छ । प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध राजनीतिक तथा कानुनी दुवै ढङ्गले सशक्त रूपमा उभिने विज्ञप्तिमा उल्लेख छ ।
“पार्टीलाई बदनाम गर्ने सुनियोजित प्रयास, प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध कांग्रेस राजनीतिक र कानुनी दुवै ढङ्गले सशक्त रूपमा उभिनेछ । पार्टीलाई ‘डिफेम’ गर्ने बदनियतका साथ आएका षड्यन्त्रलाई नेपाली कांग्रेसले राजनीतिक र कानुनी दुवै ढङ्गले सामना गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले उपसभापति पुष्पा भुसालको नेतृत्वमा आवश्यक कानुनी परामर्श प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ । त्यस्तै, नेपाली कांग्रेस संसदीय दलका तर्फबाट नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा संसद्मा आवश्यक पहलकदमी लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । सभापतिमा गगनकुमार थापालाई निर्वाचन आयोग र अदालतबाट आधिकारिक्ता दिएको विषयमा आर्थिक चलखेल भएको आरोपछि कांग्रेसले उक्त धारण सार्वजनिक गरेको हो ।
यस्तो छ कांग्रेसको प्रेस विज्ञप्ति
भय र भ्रमको शासन बन्द गर
१. नेपाली कांग्रेसको विधानअनुरूप विधिसम्मत रुपमा २०८२ पौषमा सम्पन्न भएको विशेष केन्द्रीय महाधिवेशनलाई प्रचलित कानून बमोजिम निर्वाचन आयोगबाट अद्यावधिक भइ सम्मानित सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भइसकेको र सो पश्चात नेपालको संविधान, प्रचलित कानून एवं पार्टीको विधान अनुसार २०८३ असोज १६-२३ मा नेपाली कांग्रेसको १५औँ महाधिवेशन समेत सम्पन्न भइसकेको विदित नै छ। नेपालको संविधान, प्रचलित कानून र विधान अनुसार लोकतान्त्रिक प्रक्रियाबाट भएको महाधिवेशनमाथि गरिएको श्रृङ्खलावद्ध षडयन्त्रमार्फत नेपाली कांग्रेसका आम सदस्य र लाखौं शुभेच्छुक सवैको मानमर्दन गर्न खोज्ने यस्तो दुष्प्रचारले आम सदस्य र शुभेच्छुको विश्वासलाई आघात पुर्याउन सक्दैन्। यस्ता आधारहीन तथा कपोलकल्पित विषयहरू, नेपाली कांग्रेस र कांग्रेसको नेतृत्व विरुद्ध रचेको कृतिम भाष्य (Manufactured Narrative), प्रतिपक्षको प्रश्न र आवाजलाई दबाबमा राख्न सकिन्छ कि भन्ने सोच र षडयन्त्रका साथ निर्मित भएका हुन भन्नेमा हामी प्रष्ट छौं। यस्ता षडयन्त्र र सुनियोजित हतकण्डालाई नेपाली कांग्रेस पुर्ण रूपमा खारेज गर्दछ।
२. नेपाली कांग्रेस पार्टीको वैधानिकताका सवालमा पार्टी र हाम्रो नेतृत्व विरुद्ध लगाइएका आरोप, तथाकथित अडियो बयान र प्रचारहरू निराधार, कपोलकल्पित र नियोजित छन्। यस्ता षडयन्त्रका पछाडिको उद्देश्य, बदनियत र संलग्न पात्रहरू समयक्रममा थप उजागर हुँदै जानेछन। यद्यपी नेपाली कांग्रेस आफुमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न र जस्तोसुकै छानवीनका लागि तयार छ, षडयन्त्रको चिर्न सक्षम छ। त्यसैले यस प्रसंग्मा जति पनि घटना घटेका छन सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न नेपाली कांग्रेस माग गर्दछ।
३. “इनम सापकोटा प्रकरण” मा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम लिएर राज्यका निकायहरू दुरुपयोग भइरहेका तथ्यहरू एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका छन। प्रधानमन्त्री कार्यालयको दुरुपयोग गरेर प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको प्रत्यक्ष संलग्नता र निर्देशनमा अनधिकृत व्यक्तिबाट “राज्य संरक्षित गिरोह” कै शैलीमा फोन नियन्त्रणमा लिने प्रमाण नष्ट गर्ने, संवाद गर्ने जे जस्ता कार्य भएका सन्दर्भ वाहिर आएका छन यसले राज्यका स्वतन्त्र रूपमा काम गर्नुपर्ने निकायहरू शासकको स्वार्थका लागि कसरी ‘शस्त्रीकरण’ हुन्छन् भन्ने कुराको पुष्टी गरेको छ। प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालय सम्बन्ध व्यक्तिले अनुसन्धानमा हिरासतमा रहेका व्यक्ति र प्रमाणमा अनधिकृत नियन्त्रण गरी छेडखानी गरेका विषय वाहिर आएका छन। प्रहरी महानिरिक्षक हटाउनु यसकै पछिल्लो एउटा कडी हो। शासन संचालनको यो शैली लोकतान्त्रिक व्यबस्था र संविधानप्रदत्त नागरिक अधिकारमाथि नै गम्भीर षडयन्त्र र चुनौती हो, यी श्रृङ्खलावद्ध घटना त्यही मनोवृतिका उपज हुन। सेलेक्टिभ र निर्देशनात्मक यस्तो अनुसन्धान आफ्ना गल्तिको ढाकछोप गर्ने, प्रश्न गर्नेलाई तर्साउने र प्रतिपक्षलाई कमजोर बनाउने कलुषित मनसायबाट भइरहेको छ भन्ने नेपाली कांग्रेसको ठहर छ। नेपाली कांग्रेस इनम सापकोटा प्रकरण लगायत सवै घटना र राज्य संयन्त्रलाई दुरुपयोग गरी अनधिकृत एवं गैरकानुनी कार्य गर्नेमाथी स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्ववनीय अनुसन्धानका लागि माग गर्दछ।
४. विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, प्रेस र अभिव्यक्ति स्वतन्त्रता, अनि शक्ति पृथक्कीकरणजस्ता संविधानका आधारभूत मूल्यमा नेपाली कांग्रेस सदैव अविचलित छ। सरकारका हरेक कदम विधिकै शासनमा आधारित हुनुपर्छ भन्नेमा हामी हिजो जति स्पष्ट थियौँ, आज पनि त्यतिकै दृढ छौँ। जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि लोकतन्त्रका यी सारभूत मान्यतामा नेपाली कांग्रेसले कसैसँग सम्झौता गर्ने छैन। नेपाली कांग्रेस न्यायपालिकाको सुदृढीकरण र राज्यका संस्थाको सवलीकरणको पक्षमा पनि उत्तिकै दृढ छ। सरकारका हरेक क्रियाकलाप विधिको शासनमा आधारित हुनुपर्छ भन्नेमा नेपाली कांग्रेस हिजो पनि प्रष्ट थियो र आज पनि स्पष्ट छ । त्यसका लागि निरन्तर लागिरहनेछ, लडिरहनेछ। जस्तोसुकै चुनौतीपुर्ण परिस्थितिमा पनि लोकतन्त्रका सारभूत मान्यतामा नेपाली कांग्रेसले सम्झौता नगर्ने प्रतिवद्धता आम नागरिक समक्ष पुन: दोहोर्याउन चाहान्छ।
५. पछिल्ला दिनमा सरकार पूर्णतः स्वेच्छाचारी र निरङ्कुश बन्दै असंवैधानिक कदमविरुद्ध उठ्ने नागरिक र प्रतिपक्षका आवाज थुन्न उद्धत छ। अपारदर्शी निर्णय, पत्रकारमाथि धरपकड र संवैधानिक निकायमाथिको नियन्त्रणले सरकारको अलोकतान्त्रिक चरित्र उजागर गरेको छ। सरकारी गलत कामको विरोध गर्दा कांग्रेसमाथि षड्यन्त्र र आक्रमण हुनु नयाँ होइन; ८० वर्षे इतिहासमा हामीले यस्ता चुनौती पटक-पटक सामना गरेका छौँ। पार्टीलाई बदनाम गर्ने सुनियोजित प्रयास, प्रेस नियन्त्रण र राज्यका निकायमाथिको हस्तक्षेपविरुद्ध कांग्रेस राजनीतिक र कानुनी दुवै ढङ्गले सशक्त रूपमा उभिनेछ। पार्टीलाई ‘डिफेम” गर्ने वदनियतका साथ आएका षडयन्त्रलाई नेपाली कांग्रेसले राजनीतिक र कानूनी दुवै ढङ्गले सामना गर्नेछ। नेपाली कांग्रेसले यसका लागि उपसभापति पुष्पा भुषालको नेतृत्वमा आवश्यक कानुनी परामर्श प्रक्रिया अगाडी वढाउनेछ भने नेपाली कांग्रेस संसदीय दलको तर्फबाट नेता भीष्मराज आङ्गम्वेको नेतृत्वमा संसदमा आवश्यक पहलकदमी लिनेछ।
६. नेपाली कांग्रेस स्पष्ट छ- सरकारको प्राथमिकता विपद्बाट प्रताडित जनताको राहत र पुनर्स्थापना, ठप्प बनेको अर्थतन्त्रको पुनरुत्थान, जलवायु संकटको सम्बोधनमा जस्ता विषयमा हुनुपर्छ; प्रश्न सोध्ने नागरिकको मुख थुन्ने वा प्रतिपक्षसँग प्रतिवाद गर्ने षडयन्त्र र हर्कतमा होइन। १५औँ महाधिवेशनमार्फत संकल्प गरेझै जनसरोकारका मुद्दामा जिम्मेवार र रचनात्मक सहयोगका लागि नेपाली कांग्रेस सधैँ तयार छ। अतः राज्य-नियन्त्रित अफवाह फैलाएर भय र भ्रम सिर्जना गरी सत्ता चलाउने धन्दा बन्द गरी जनताका मूल मुद्दामा तत्काल केन्द्रित हुन नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ। १५औं महाधिवेशनको स्पष्ट नीति अनुसार “प्रतिपक्षीय निगरानी” मार्फत सरकारका गलत क्रियाकलापमा प्रश्न गर्दा अत्तालिएको सरकार संरक्षित गिरोहले आफ्नो गल्ती ढाकछोप र विषयान्तर गर्न बुनेका षड्यन्त्रमा नपरी जनसरोकार, विधिको शासन र नागरिक स्वतन्त्रताका पक्षमा दृढ रहन नेपाली कांग्रेस सम्पूर्ण पार्टी पङ्क्तिलाई अपील गर्दछ।
जय नेपाल !
प्रदीप पौडेल
महामन्त्री
प्रकाशित मिति : बुधबार, कार्तिक १८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्