काठमाण्डौ , कात्तिक कृष्ण त्रयोदशीका दिन आज यमराजको दूतका रूपमा कागलाई खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ ।
कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो खान दिई खुशी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने चलन छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।
यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ को कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक हिजो बेलुकीदेखि नै शुरु भएको छ । यमदीप दान हिजोदेखि नै शुरु भएको हो । गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व हिजो नै मनाइएको छ ।
भोलि नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । पर्सि २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ ।
यमपञ्चकको अन्तिम दिन अर्थात् २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्