तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ ।

उज्यालोको पर्व तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाएको प्राधिकरणले जनाएको छ ।

तिहार तथा छठ पर्वका समयमा विद्युत प्रणालीको नियमित सञ्चालन र आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ । बैठकमा पर्वका समयमा विद्युत आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको थियो ।

त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यलय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्तिको परिचालनबारे छलफल तथा समन्वय गरिएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । विद्युत आपूर्तिमा कुनै समस्या देखिएमा तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न उहाँले निर्देशन दिनुभएको छ ।

त्यसैगरी, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका कार्य तत्काल सम्पन्न गरी विद्युत आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन भएको छ । विद्युत आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउनसमेत सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ ।

तिहारको लक्ष्मीपूजाका दिन भोलि बेलुका विद्युतको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान गरिएको छ । यो माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । त्यस अवधिमा विद्युत उत्पादन झण्डै २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ ।

उहाँले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत आपूर्ति सहज बनाउन पर्याप्त विद्युत उपलब्ध हुने उल्लेख गर्नुभयो । पर्व अवधिभर विद्युतको माग तथा आपूर्तिको अवस्थाको नियमित अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिनेछ ।

प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको छ ।

यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युतको सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ ।

विद्युत आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक २१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij