आज नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै : लक्ष्मी पूजा पनि आजै 

आज नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै : लक्ष्मी पूजा पनि आजै 

काठमाण्डौ , तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष सहप्रा।डा। पुरुषोत्तम भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

त्यस्तै आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई नुहाउने विधिसमेत रहेको छ । तिथिको घटबढका कारण आज बिहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

तिहारको सबैभन्दा उज्यालो पक्ष लक्ष्मीपूजा हो। कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ भनिन्छ। पौराणिक कालमा जब देवता र असुर मिलेर अमृत प्राप्तिका लागि क्षीरसागरमा समुद्र मन्थन गरेका थिए, त्यस क्रममा कात्तिक कृष्ण औँसीकै दिन समुद्रबाट जगत्जननी देवी महालक्ष्मी प्रकट हुनुभयो। लक्ष्मी प्रकट भएपछि देवताले उहाँको स्वागतमा दीप प्रज्वलन गरी पूजाआजा गरेका थिए। त्यसैले हरेक वर्ष यो दिन लक्ष्मीको जन्मोत्सव र आगमनको खुसियालीमा दीपावली गरिन्छ।

पौराणिक कथा अनुसार भगवान् विष्णुले वामन अवतार लिएर दानवीर राजा बलिलाई तीन पाइला भूमि माग्ने क्रममा पाताल लोक पठाउनुभएको थियो। राजा बलिको दानशीलताबाट प्रसन्न भई विष्णुले उनलाई पातालको राज्य सुम्पिनुभयो। सोही समयमा लक्ष्मीले बलि राजालाई आफ्नो भाइ बनाइ हातमा रक्षा बन्धन धागो बाँधिदिनुभयो र त्यसको बदलामा बलि राजाको कडा पहरामा रहेका आफ्ना पति नारायण विष्णुलाई मुक्त गराउनुभयो। बलि राजाको राज्यमा लक्ष्मीको आशीर्वादले सधैँ धनधान्य भरिपूर्ण रहने वरदान प्राप्त भएको खुसियालीमा पनि यो रात घर घरमा दीप प्रज्वलन गरी उज्यालो बनाउने गरिन्छ।

पञ्चाङ्ग समितिका अनुसार कात्तिक २३ गते गाईतिहार, कात्तिक २४ गते गोरुतिहार, गोवर्धन पूजा र म्हपूजा गरिने छ। यसै दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुने छ। तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइतिहार  परेको छ। सो दिन भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेट उत्तम मानिएको छ।

प्रकाशित मिति : आइतबार, कार्तिक २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij