काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज बिहीबार थुनामुक्त हुँदै छन्।
६५ वर्ष उमेर पूरा गरेपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले आज कात्तिक २६ गते रिहा गर्न आदेश दिएको हो।
रायमाझीले ज्येष्ठ नागरिकको सुविधा पाउन जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए। अदालतले उनको उमेरसम्बन्धी प्रमाणका आधारमा कैद सजायमा छुट दिने निर्णय गरेको थियो।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्षदेखि ७० वर्षसम्मका ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले गत कात्तिक १३ गते रायमाझीलाई उक्त सुविधा प्रदान गर्ने आदेश दिएको थियो। आदेशअनुसार उनलाई रिहा गर्न डिल्लीबजार कारागारमा पत्राचार भइसकेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते रायमाझीलाई दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
उनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी मुद्दामा दोषी ठहर गरिएको थियो।
अदालतको फैसलाअनुसार चार वर्ष कैदमध्ये २५ प्रतिशत अर्थात् एक वर्ष छुट भएपछि उनले तीन वर्ष कैद भुक्तान गर्नुपर्ने भएको थियो। अदालतले यसअघि थुनामा बसेको अवधि गणना गर्दा आवश्यक कैद भुक्तान भइसकेको ठहर गरेको छ।
अदालतको पत्रअनुसार रायमाझीको जरिवानाबापतको कैदसमेत अतिरिक्त थुना अवधिबाट कट्टा भइसकेको छ। उनलाई पीडित राहत कोषमा एक हजार ६ सय रुपैयाँ दाखिला गराउन र अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने अवस्था नभए आज कैदमुक्त गर्न निर्देशन दिइएको छ।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० वैशाखदेखि थुनामा रहेका थिए।
प्रकाशित मिति : बिहिबार, कार्तिक २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्