बुटवल । प्रदेश ५ सरकारले आवधिक योजना निर्माणको तयारी गरेको छ । जसअनुसार सरकारले सरोकारवालासँग छलफल शुरु गरेको छ ।
पाँच वर्षमा प्रतिव्यक्ति आय वाषिर्क दुई हजार अमेरिकी डलर पुर्याउने र गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको प्रदेश ५ सरकारले जिल्ला जिल्लामा सरोकारवालालाई भेटेर छलफल थालेको हो ।
सरकारले आर्थिक वर्ष ०७६/७७ देखि ०८०/८१ सम्मको पाँच वर्षे योजना बनाउन लागेको छ । आवधिक योजनामा समेट्नुपर्ने स्थानीय आवश्यकता र प्राथमिकताका क्षेत्र निर्धारणका लागि जनप्रतिनिधि, नागरिक समाज, नीजि क्षेत्रसहित सरोकारवालाहरुको रायसुझाव लिन मन्त्रीको नेतृत्वमा प्रदेशका बाह्रवटै जिल्लामा छलफल गर्न लागिएको हो । मंसिर २२ गतेसम्म छलफल गरेर यो वर्षको अन्तिममा योजना तयार गर्ने मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए।
छलफल कार्यक्रममा मुख्यमन्त्री, मन्त्रीहरु, योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, सदस्यद्वय विष्णु गौतम र पुष्पा भुसाल लुइटेल सहित सबै मन्त्रालयका योजना महाशाखाका प्रमुखहरु सहभागी हुने छन् ।
प्रदेश सरकारले अब १२ वटै जिल्लाबाट संकलित रायसुझाव समेटिएको आवधिक योजनाको मस्यौदा राष्ट्रिय योजना आयोगमा पठाउने छ ।
आयोगबाट प्राप्त सुझावहरु समेटेर योजनालाई अन्तिम रुप दिइने र सोका आधारमा प्रदेशको विशेषता झल्किने योजना बनाइने योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बताए ।
प्रदेश मन्त्रिपरिषदबाट आधारपत्रको स्वीकृति लिई विज्ञहरुमार्फत योजना आयोग र मन्त्रालयहरुको सहकार्यमा क्षेत्रगत विषयका योजना बनाइने, सरकारी कार्यालय, जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाज आदि सरोकारवालासँग अन्तरक्रिया गरी क्षेत्रगत योजनाका मस्यौदा परिमार्जन गर्ने र माघभित्र योजनाको पहिलो मस्यौदा तयार गर्ने प्रदेश सरकारको लक्ष्य छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्