काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गरेको छ ।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गरेका हुन् ।
यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो ।
नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ ।
पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ ।
आज सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ ।
त्यसमा तत्कालीन एमालेका तर्फबाट १२२ र माओवादी केन्द्रका तर्फबाट ८५ सदस्य छन् ।
प्रदेश नं २ मा २१५ जनाको प्रदेश कमिटी गठन हुनेछ । त्यसमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट समान १०६ जना रहनेछन् भने पार्टी एकतापछि प्रवेश गरेका तीन जनालाई समेत कमिटीमा अटाइएको छ ।
प्रदेश नं ३ मा तत्कालीन एमालेबाट ११६ र माओवादी केन्द्रबाट १०१ गरी कूल २१७ जना सदस्यीय प्रदेश कमिटी रहनेछ । यस्तै गण्डकी प्रदेश कमिटीको सङ्ख्या १८७ रहनेछ । त्यसमा तत्कालीन एमालेका तर्फबाट १०२ र माओवादी केन्द्रका तर्फबाट ८५ जना सदस्य रहेका छन् ।
प्रदेश नं ५ को कमिटी २०३ सदस्य बन्ने भएको छ । त्यसमा तत्कालीन एमालेका १०६ र माओवादी केन्द्रका ९७ सदस्य छन् ।
आज सार्वजनिक गरिएको नामावलीमा कर्णाली प्रदेशमा तत्कालीन एमालेका तर्फबाट ८७ र माओवादी केन्द्रका ८८ जना अटाएका छन् ।
सो प्रदेश कमिटी १७५ सदस्यीय छ । सुदूर पश्चिम प्रदेश कमिटी १८३ सदस्यीय बनेको छ । त्यसमा तत्कालीन एमालेबाट १०० र माओवादी केन्द्रबाट ८३ जना अटाएका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्