काठमाडौं । कर्मचारी समायोजन सम्बन्धी अध्यादेशप्रति स्थानीय तहका कर्मचारीले असन्तुष्टि जनाएका छन् । अध्यादेशको विरोधमा कर्मचारीहरु आन्दोलनमा उत्रिने भएका छन् ।
उनीहरुले केन्द्रबाट समायोजन भएर जाने कर्मचारीसँगै स्थानीय तहका कर्मचरीको पनि समायोजन गर्नुपर्ने माग अघि सारेका छन् ।
स्थानीय तहमा कार्यरत साढे ६ हजार अस्थायी कर्मचारीलाई स्थायी गर्न पनि उनीहरुको माग छ ।
स्थानीय तहका कर्मचारीलाई पनि एक तह स्वतः बढुवा गर्नुपर्ने मागलाई कर्मचारी संगठनले जोडबलका साथ उठाएका छन् ।
हातमा कालोपट्टी बाँध्नेदेखि अनिश्चितकालसम्म कामकाज ठप्प पारेर फोहोर उठाउन बन्द गर्नेसम्मका कार्यक्रम घोषणा गर्ने तयारीमा स्थानीय तहका कर्मचारी छन् ।
सरकारले हालै मात्र ल्याएको कर्मचारी समायोजन अध्यादेशको विरोधमा विपक्षी कांग्रेससँगै सत्तारुढ नेकपासम्वद्ध स्थानीय तहका कर्मचारी संगठनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
नेकपा निकट स्थानीय तह कर्मचरी संघ तथा नेपाल राष्ट्रिय स्थानीय तह कर्मचारी संगठन, कांग्रेस निकट स्थानयी तह कर्मचरी युनियन र नगरपालिका कर्मचारी एसोसिएशनको संयुक्त बैठकले सोमबारबाट आन्दोलनमा उत्रिने निर्णय लिएका छन् ।
घोषित कार्यक्रमअनुसार सोमबार ७५३ वटै स्थानीय तहको काम ठप्प हुनेछ । स्थानीय तह कर्मचरी युनियनका महासचिव रामप्रसाद पौडेलले सोमबार काम रोक्ने कार्यक्रम सांकेतिक मात्रै भएको बताए ।
आन्दोलनबारे जानकारी गराउन मुख्य शहरहरुमा रहेका स्थानीय तहका कर्मचारीहरुले एकैसाथ आइतबार पत्रकार सम्मेलन गर्ने निधो गरेका छन् ।
‘हामी आइतबार यसबारे औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौं,’ महासचिव रामप्रसाद पौडेलले भने, ‘स्थानीय तहमा कर्मचारी समायोजन गर्दा भएको विभेद भण्डाफोर गर्ने किसिमबाट आन्दोलन घोषणा हुन्छ । ’
हातमा कालो पट्टी बाँधेर काम गर्ने, कार्यालय परिसरमा धर्ना दिनेसहित अनिश्चितकालीन काम रोक्ने र फोहोर उठाउन रोक्नेसम्मका कार्यक्रम तय भएका छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्