काठमाडौँ : प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ ।
विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए ।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेल पछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । यहीँ बसेर बिपीले ‘दोषी चस्मा’ कथा सङ्ग्रह बाहेकका साहित्यको रचना गरेका थिए ।
पुस १ गते तरुण दललगायतका संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिने जनाइएको छ ।
प्रकाशित मिति : आइतबार, पुष १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्