गाउँसहरमा गर्भपतन गर्ने दर बढेको बढ्यै

गाउँसहरमा गर्भपतन गर्ने दर बढेको बढ्यै

पाल्पा । गाउँ शहरमा असुरक्षित गर्भपतनको दर अत्याधिक बढेको यहाँ आयोजित अन्तरक्रियाका सहभागीले बताएका छन् ।

उनीहरुले असुरक्षित गर्भपतन सेवा लिने महिला तथा किशोरीहरुको ज्यान जोखिममा पर्दै गएको समेत बताए ।

अब हरेक क्षेत्रमा सूचना प्रवाह गर्न पत्रकारहरुले सहयोग गर्नुपर्ने आग्रह स्वास्थ्य कार्यालयले गरेको छ ।

स्वास्थ्य कार्यालय र आइपास नेपालको आयोजनामा सुरक्षित गर्भपतनको विषयमा पत्रकारहरुसंग अन्तक्र्रिया कार्यक्रम गरेको हो ।

अघिल्लो वर्षभरि भएका गर्भपतनमध्ये ५९ प्रतिशत असुरक्षित गर्भपतन रहेको तथ्यांक प्रस्तुत गरिएको थियो । सरकारी संस्थाहरुमा निःशुल्क रुपमा गर्भपतन सेवा उपलब्ध रहेको जानकारी फैलाउन आफुहरुले नसकेको आयोजक संस्थाले स्वीकारेका छन् ।

सरकारी संस्थाहरुमा गत वर्ष ९ सय १७ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका थिए । नेपाल परिवार नियोजन संघमा मात्रै ११ महिनाको अवधिमा ६ सय ६८ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

त्यती नै संख्यामा असुरक्षित गर्भपतन भएको अनुमान स्वास्थ्य कार्यालयको छ । अब जनचेतनाको आवश्यकता बढ्दै गएको कार्यक्रममा सहभागीहरुले बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपाने गर्भपतन सेवा महिलाको हक र अधिकारसंग जोडिएको बताए । उनले सरकारले पछिल्लो समयमा २८ हप्तासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको बताए ।

नौ हप्ता सम्मको गर्भपतन औषधीबाट गर्न सकिन्छ । नौ हप्तादेखि १२ हप्तासम्मको औजारबाट गर्ने गरिन्छ । यस्तै विभिन्न समस्या देखिएमा १२ देखि २८ हप्तासम्मको गर्भ चिकित्सकको परामर्शबाट गर्भपतन गर्न सकिने प्रावधान रहेको छ ।

१६ वटा सरकारी संस्था, नेपाल परिवार नियोजन संघ र लुम्बिनी मेडिकल कलेजबाट औषधी तथा औजारबाट गर्भपतन सेवा तथा परामर्श दिदै आएको स्वास्थ्य कार्यालयकी पव्लिक हेल्थ नर्स अधिकृत कल्पना पौडेलले बताइन् ।

गर्भपतन सेवालाई सुरक्षित बनाउन, महिलाको मृत्युदर घटाउन, गर्भपतन सेवा महिलाको अधिकार भन्ने कानुनी मान्यतालाई स्थापित गर्न विभिन्न दातृ निकायले पनि सहयोग गर्दै आएका छन् ।

जिल्लामा पनि आइपास नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले वि.सं. २०७३ सालदेखि सहयोग गर्दै आएको छ ।

जिल्लाको सरकारी स्वास्थ्य संस्थाहरुका कार्यरत कर्मचारीहरुलाई तालिम तथा औजारमा सहयोग गर्दै आएको त्यसकी जिल्ला संयोजक राधिका नायजुले बताइन् ।

नेपालमा वार्षिक रुपमा ३ लाख ३२ हजार गर्भपतन हुँदै आएकोमा १ लाख ८६ हजार १ सय ४४ जनाले अझपनि असुरक्षित गर्भपतन गर्दै आएका छन ।

कार्यक्रममा आइपास नेपालकी कोडिनेटर थमकुमारी कुवँरले गर्भपतनको कानुनी अवस्था, सुरक्षित गर्भपतनको बारेमा जानकारी गराइन् ।

गर्भपतनलाई परिवार नियोजनका साधनका रुपमा लिएपछि भ्रणको हत्या गर्ने क्रम बढेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

विभिन्न अस्पताल तथा नीजि क्लिनिकहरूमा गर्भवती महिलाले नचाहेको गर्भको हत्या गरेको पाइएको उनले बताए । एउटै महिलाले दुई वर्षको अवधिमा तीन पटकसम्म गर्भपतन गराएको भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा रहेका १६ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा दिने गरेको छ । त्यसपछि गर्भपतन गराउनेको संख्या बढ्दै गएको उनले बताए । जिल्लामा सन् २००८ देखि सुरक्षित गर्भपतन सेवा शुरु भएको हो ।

आव २०७४÷७५ मा ९ सय १७ जना महिलाले मान्यता प्राप्त स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन सेवा लिएका थिए । जबकी आव २०७३÷७४ मा ७ सय ४४ जनाले गर्भपतन गराएका छन् । पछिल्लो समय गर्भ निरोधकका अस्थायी साधन र स्थायी साधन प्रयोग गर्नुभन्दा पनि गर्भपतन गर्ने क्रम बढ्दो छ ।

जिल्ला सरकारी अस्पतालमा२ सय ९० र रामपुर अस्पतालमा १ सय ६५ जनाले अघिल्लो आर्थिक वर्षमा गर्भपतन गराएका छन् ।

जिल्लाकै ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा ६४, खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अर्गलीमा २५, मदनपोखरामा ५०, झडेवामा ५९, छहरामा ७७, गाडाँकोमाट ३४, पालुङमैनादीमा ३९, बिरकोटमा दुई, रिङ्नेरहमा ३०, चापपानीमा नौ, नायरनमतलेसमा २३, पिपलडाँडामा सात, हुँगी स्वास्थ्य चौकीमा ४२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

छहरा स्वास्थ्य चौकीकी अनमी तुलसी ज्ञवालीले सुरक्षित गर्भपतन गराउन आउनेको सबै विवरण गोप्य राखिने बताइन् । उनले अहिलेसम्म सेवा लिन आउनेहरुले लामो तथा छोटो अवधिको अस्थायी साधन प्रयोग गर्नलाई प्रोत्साहन गर्ने गरेकोसमेत बताइन् ।

‘सबैले निकै सोधी खोजी गर्न खोज्छन्,’ उनले भनिन्, ‘हामीले हाम्रो गोप्यतामा कहिल्यै कमी हुने दिने छैनौ ।’

क्याम्पस पढ्ने र शिक्षित परिवारमा सुरक्षित गर्भपन गर्नेको संख्या बढिरहेकोस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउने, लामो समयसम्म परिवार नियोजनको साधनलाई अपनाउन जोड दिनुपर्ने उनले बताए । जिल्लामा सञ्चालित लुम्बिनी मेडिकल कलेज प्रभास र नेपाल परिवार नियोजन संघबाट पनि १ हजार शुल्क लिएर सुरक्षित गर्भपतन सेवा प्रदान गरिएको छ ।

जिल्लामा २० वर्षदेखि ४० वर्षसम्मका महिलाले बढी गर्भपतन गराउने गरेका छन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा लिंग पहिचान नगरी मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन गराउन सकिन्छ ।

प्रकाशित मिति : बुधबार, पुष ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij