असल शासनको अपेक्षा

असल शासनको अपेक्षा

सुशासन वा असल शासन आज हामी सबैको चाहना हो । हाम्रो देश, समाज, संस्था वा मण्डली तथा हाम्रो घर असल प्रकारले चलाइनु पर्दछ जसलाई हामी सुशासन भन्दछौं ।

जब जब संचालन प्रक्रियामा विकृति देखा पर्दछ वा संचालनका जिम्मा पाएकाहरूले आफ्नो जिम्मा इमान्दारीसाथ पूरा गर्नुको सट्टा व्यक्तिगत स्वार्थ पूरा गर्न लाग्छन्, जिम्मेवारीको वेवास्ता गर्दछन् वा अधिकारको गलत प्रयोग गर्न शुरू गर्दछन्; देश, समाज, संस्था वा मण्डली अनि घर बिग्रन्छ, समय वित्दै जाँदा सुधार गर्नै नसकिने गरी तहसनहस हुन पुग्दछ ।

हामीले देखेका वा सुनेका सबै कुशासन असक्षमता, अनाज्ञाकारिता तथा स्वार्थप्रेरित क्रियाकलापकै उपज हुन् । हालको अवस्था खास गरी राष्ट्रिय परिस्थिति नियालेर हेर्दा अधिकांश व्यक्तिहरूले जुन काम र जिम्मा पाइएका हुन्छन्, पहिले त त्यसका लागि चाहिने ज्ञान, अनुभव र दक्षता विनानै नातावाद, कृपावाद, भनसुन र धाक धम्कीकै भरमा पाएका देखिन्छन् ।

देशका नीति निर्माण गर्ने ओहोदामा होस्, जनशक्ति निर्माण गर्ने क्षेत्रमा होस्, भौतिक संरचना निर्माण कार्यको ठेक्का पट्टाको कुरा होस्, वा सार्वजनिक सेवाका क्षेत्रमा किन नहोस्; व्यक्तिको योग्यता, अनुभव र क्षमताका तुलनामा कसको पहुँच कहाँसम्म छ भन्ने कुराले निर्धारण गरेको देखिन्छ ।

जब व्यक्ति देश र समाजको सेवा गर्नुको सट्टा आफ्नो कर्तव्य र जिम्मेवारीका वास्ता नगरी व्यक्तिगत, पारिवारिक वा दलगत स्वार्थ सिद्धिका लागि जेसुकै गर्न तयार रहन्छ, सुशासनका कुरा जति गरिए पनि सो नारामा मात्र सिमित हुन पुग्दछ ।

परमेश्वरले पृथ्वीमा सृजिएका सबैकुराको आधिपत्य मानिसलाई दिनुभयो भयो (उत्पत्ति १ः२८), मानिसलाई चाहिने सबै कुराका व्यवस्था मिलाउनु भयो (उत्पत्ति १ः२९–३०, २ः१८), सिधै सम्बन्धमा रहनुभयो, आवश्यक नियमको परिधीभित्र रही जिम्मा दिइएका कुराको विकास तथा संरक्षण गर्ने जिम्मेवारी सुम्पनुभयो (उत्पत्ति २ः१५–१७)।

मानिसले आफ्नो अधिकार र जिम्मेवारी पूरा गर्दै पाएको कुरामा सन्तुष्ट हुनुुको सट्टा अझ राम्रो, बुद्धिमान र बलियो बन्ने स्वार्थी इच्छामा बहकिएको कारण संसारमा पापको प्रवेश भयो (उत्पत्ति ३ः६) र अहिलेसम्म हामीहरूबीच विभिन्न प्रकारले काम गरिरहेको छ ।

संसारमा कहीँ पनि सम्पूर्णं रूपले सुशासन स्थापना भएको छैन र अहिलेकै तौरतरिकाले सुशासन स्थापना हुनै सक्दैन । परमेश्वरको वचनले हामी सबैलाई यसरी चेतावनी दिन्छ, “धिक्कार तिनीहरूलाई, जसले अन्यायी व्यवस्था बनाउँछन्, तिनीहरूलाई जसले अत्याचारी विधि निकाल्छन् ।

गरीबहरूका हक खोस्न र थिचोमिचोमा परेका मेरा प्रजाहरूका न्याय नगर्न, विधवाहरूलाई शिकार बनाउन र टुहुरा–टुहुरीहरूका धन लुट्नलाई तिनीहरूले यसो गर्छन् । लेखा दिनुपर्ने दिन र टाढाबाट आउने आपत्ति आउँदा तिमीहरू के गर्नेछौै? तिमीहरू सहायताका निम्ति कसकहाँ जानेछौ? तिमीहरू आफ्ना धनहरू कहाँ छोड्नेछौ?” (यशैया १०ः१–३)

परमेश्वर न्याय र धार्मिकता स्थापित गरी स्थिर गराउन तथा अनन्त शान्ति स्थापनाद्वारा सुशासन कायम राख्न चाहनुहुन्छ । यसैका लागि भविष्यवाणी गरिएको ७०० वर्षपछि येशू हामीहरूका लागि जन्म लिनुभएको हो, जसले स्थापना गर्ने न्याय, धार्मिकता र शान्तिकाबारेमा यसरी भविष्यवाणी गरिएको थियो, “किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ। हाम्रा निम्ति एउटा छोरो दिइएको छ। शासन उहाँका काँधमा हुनेछ।

उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ। उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिल्यै हुनेछैन ।”

देशमा सुशासन कायम गर्न देश, समाज र परमेश्वरको डरमा रहने थुपै्र नैतिकवान, जिम्मेवार तथा शोषित पिडित जनताको वास्ता गर्ने, आपूm र आफ्नाको खोजी गर्नुको साँटो बोल्न नसक्ने, पहँच नभएका, अल्प संख्यक तथा कुना कुनामा रहेकाहरुको न्यूनत्तम आवश्यकता पूरा भए नभएको हेर्नेव व्यक्तिहरूको आवश्यक छ ।

येशू ख्रीष्टको आगमन नै यशैया अगमवक्ताको पुस्तकमा लेखिएअनुसार “परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरुलाई सुमाचार सनाउनका निम्ति, उहाँले मलाई अभिषेक गर्नुभएको छ । कैदीहरुलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरुलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरुलाई स्वतन्त्र गराउनका निम्ति, र परमप्रभुको प्रसन्नताको वर्ष घोषणा गर्नका लागि मलाई पठाउनुभएको छ ।”

मुक्तिदाता प्रभु येशू ख्रीष्टको जन्मोत्सव एवं नववर्ष २०१९ को उपलक्ष्यमा हाम्रो सरकार, जनप्रतिनिधिहरु, सरकारी उच्च पदस्थ कर्मचारीहरु, विभिन्न पार्टी पंक्तिमा सकृय रहनुभएका राजनीतिज्ञहरु, समाज सेवीहरु, बुद्धिजीवीहरु, शिक्षा प्रेमी तथा न्याय प्रेमीहरु लगायत देशको मुहार फेर्न कटिवद्ध स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै देशमा सुशासन कायम राख्न परमेश्वरलाई सबैलाई ज्ञान, बुद्धि र विवेक दिनुभएको होस् । धन्यवाद ।
(लेखक महिमा ज्योति मण्डली, बुटवल ११ तल्लोदेबिनगरका अध्यक्ष हुन् । उनले बिभिन्न क्षेत्रमा ब्यवस्थापनको बारेमा प्रशिक्षण समेत प्रदान गर्दछन् ।)

प्रकाशित मिति : मंगलबार, पुष १० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij