प्रदेश-५ मा गाडी खरिदमा ५७ लाख भन्दा बढी घोटाला भएको ठहर, कुन गाडीमा कति घोटाला ?

प्रदेश-५ मा गाडी खरिदमा ५७ लाख भन्दा बढी घोटाला भएको ठहर, कुन गाडीमा कति घोटाला ?

बुटवल–प्रदेश ५ सरकार र प्रदेश सभा सचिवालयले गाडी किन्दा ५७ लाखभन्दा बढी घोटालाको प्रयास भएको पुष्टि भएको छ।१५ वटा गाडी खरिदमा उपभोक्ता मूल्यभन्दा प्रतिगाडी न्यूनतम ३ लाख ४० हजार रुपैयाँ घोटालाको प्रयास भएको पुष्टि भएको हो।

सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेश सभा सचिवालयले गाडी खरिदमा सामान्य व्यक्तिले पाउने मूल्यभन्दा बढी तिरेर सरकारी ढुकुटीमाथि लापरबाही गरेको निष्कर्ष निकालेको हो।

सर्वसाधारणले ६८ लाख ५५ हजार रुपैयाँमा पाउने टाटा स्ट्रोम गाडी प्रदेश सरकारका मन्त्रालय र प्रदेश सभा सचिवालयले तीनथरि मूल्य ७१ लाख ९५ हजार, ७२ लाख ९९ हजार र ७२ लाख ४२ हजारमा किनेका थिए।

प्रदेश सभा सचिवालयले ७१ लाख ९५ हजार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७२ लाख ९९ हजार र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७२ लाख ४२ हजारमा गाडी खरिद गरेका थिए।

यसरी प्रदेश सभाले खरिद गरेका ११ र मन्त्रालयले खरिद गरेका ४ गरी १५ वटा गाडी खरिदमा ५७ लाख भन्दा बढी रुपैयाँ घोटाला भएको समितिको निष्कर्ष छ।

समितिका अनुसार टाटा कम्पनीको स्ट्रोम गाडी भन्सार र भ्याटसहित नेपाल आउँदा ५५ लाख ७८ हजार रुपैयाँ पुग्छ । यातायात दस्तुर, अन्य विविध शुल्क बुझाएर बिक्रेताले १२ देखि १३ प्रतिशत नाफा खाएर उपभोक्तालाई बिक्री गर्छन् भने प्रदेश सरकार र प्रदेश सभाले २९ प्रतिशतसम्म नाफा दिएर खरिद गरेको छ।

गाडी बेच्ने र किन्ने पक्षको मिलेमतो र लापरबाहीमा ‘विधि प्रक्रिया मिलाएर जति मूल्य लिएपनि हुन्छ’ भन्ने नियत देखिएको सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले बताए।

‘गाडी किन्दा विधि र प्रक्रिया मिलाइएको रहेछ,–सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको निचोड सुनाउँदै उनले भने–तर गाडीको मूल्य नै बढी राख्ने, स्पेशिफिकेशन एउटा गाडीलाई मात्रै मिल्नेगरी बनाउन लगाएको पाइएको छ, यसरी नियम मान्ने तर त्यसलाई टेकेर अनियमितता गर्ने नियत प्रष्ट छ।’

लेखा समितिले सरकार र प्रदेश सभा सचिवालयले किनेका गाडीको मूल्य ६८ लाख ५५ हजार भन्दा बढी भुक्तानी नगर्न निर्देशन दिएको छ। ‘गाडी खरिद गर्दा जे जति रकम बढी देखिएको छ, त्यो रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने व्यवस्था मिलाइयोस्, लेखा समितिका सदस्य विष्णु पन्थीले भने–यो रकम भुक्तानी हुन बाँकी भए ६८ लाख ५५ हजार रुपैयाँ भन्दा बढी भुक्तानी नदिइयोस्।’

लेखा समितिले सरकारले मितव्ययिताको नारा लगाएपनि व्यवहारमा देखिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।नेपाली भूगोलमा उपयुक्त नरहेको र पुरानो मोडलको गाडी खरिद गरेको, खरिद गर्दा सामान्य सावधानीका पक्षलाई पनि ख्याल नगरेको भन्दै लेखा समितिले खरिदकर्ता पक्षलाई सचेत गराएको छ ।

‘गाडी किन्दा पहाडमा पनि जान सक्ने भनेर खरिद गरिएको रहेछ, तर यो गाडीको प्रकृतिअनुसार त यो गाडी पहाडमा जानेखालको छैन,–लेखा समितिका सदस्य तथा छानबिन उपसमितिका संयोजक कुलप्रसाद पोखरेलले भने।

लेखा समितिले टाटा गाडी बिक्री गर्ने सिप्रदी, स्थानीय एजेन्ट सफल अटो बुटवलले अत्याधिक नाफा खाएको निचोड निकालेको छ । जसमा खरिदकर्ता पक्षको लापरबाही भएको समितिको तर्क छ।

प्रदेश सभाले ११ वटा र प्रदेश सरकारका विभिन्न मन्त्रालयले ४ वटा गाडी खरिद गर्दा अनियमितता भएको आशंकासहित लेखा समितिले छानबीन थालेको थियो।

समितिले तोकेन घोटाला प्रयास गर्ने व्यक्ति
लेखा समितिले छानबीनको निष्कर्ष निकालेपनि त्यसमा संलग्न व्यक्तिहरुको नाम भने तोकेको छैन।

लेखा समिति सभापति चौधरी भन्छन्-‘हामीले अहिलेसम्म जे जति फेला पार्‍यौं र भेटायौं, त्यसका आधारमा प्रतिवेदन तयार पारेका छौं, अन्तिम प्रतिवेदन हामीले प्रदेश सभालाई बुझाउँछौं र थप छानबीनको काम वा कारबाहीको काम त्यहीँबाट अघि बढ्छ भन्ने हाम्रो विश्वास हो।’ समितिले प्रतिवेदन यही माघ २९ गते प्रदेश सभालाई बुझाउने उनले बताए।

देशसञ्चारबाट

प्रकाशित मिति : शुक्रबार, माघ २५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij