काठमाडौ । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। ८२ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार ह्याम्स अस्पतालमा निधन भएको हो।
अधिकारीलाई श्वासप्रश्वास र निमोनिया लगायतका समस्या भएपछि तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।
मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गते उनलाई ह्याम्स अस्पतालमा सारिएको थियो। अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो। तीन दिनदेखि कुनै पनि प्रक्रिया जनाउन सकेका थिएनन्।
२४ घण्टादेखि पिसाब रोकिएको र सबै महत्वपुर्ण अंगले काम गर्न छाडेको भन्दै अस्पतालले शनिबार अपरान्ह पत्रकार सम्मेलन गरेर बचाउन स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको थियो।
नेपाल कम्युनिष्ट पार्टीका नेता अधिकारी सन १९३६ मा महोत्तरीको भावरपूर्ण गाउँमा जन्मिएका हुन्। दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला २०५१ साल पुसमा पहिलोपटक अर्थमन्त्री बनेका अधिकारी चार पटक अर्थमन्त्री भए।
यस्तै एकपटक यातायात तथा निर्माणमन्त्री, चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन लगायत विभागमा प्रमुखको जिम्मेवारी बहन गरेका थिए।
अधिकारी अर्थमन्त्री हुँदा अघि सारिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेका छन्।
अधिकारी अर्थमन्त्री हुँदा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन थालिएकोहो भने वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन अधिकारीकै योजनामा आएका हुन् ।
संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री बने । त्यसबेला पनि उनले अस्पतालमा सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गरे । अस्पतालमा सुत्केरी हुनेले हिमाली क्षेत्रमा १ हजार ५ सय, पहाडी क्षेत्रमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन् ।
२०४७ मा संविधान मस्यौदा समिति सदस्य अधिकारी मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा दुईपटक निर्वाचित भए । अधिकारी मनमोहन मेमोरियल फाउन्डेसनका संस्थापक अध्यक्ष हुन् । ७० वर्ष पुगेपछि पार्टीको सक्रिय जिम्मेवारीबाट अवकाश लिने नीतिबमोजिम उनले नेकपा एमालेको नवौँ महाधिवेशनबाट अवकाश लिएका थिए। देशकै पूर्वउपप्रधानमन्त्री अधिकारीका पत्नी र दुई छोरी छन्।
प्रकाशित मिति : आइतबार, फाल्गुन १९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्