कस्तो छ भरतमोहनको राजनीतिक इतिहास?

कस्तो छ भरतमोहनको राजनीतिक इतिहास?

काठमाडौँ । कानुन व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए ।

शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अविश्रान्त योद्धा मानिन्छन् ।

विसं १९९३ वैशाख २२ गते महोत्तरीको भमरपुरामा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारी देवीका कान्छा सुपुत्रका रूपमा जन्मेका उनी सन् १९५२ मा भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध हुँदै अविभाजितकालदेखि नै नेपाल कम्युनिष्ट पार्टीमा निरन्तर सक्रिय थिए ।

विसं. २०५१ मा नेकपा (एमाले)का तत्कालीन अध्यक्ष तथा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको बजेटमा सर्वप्रथम ‘ज्येष्ठ नागरिक भत्ता’, ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, ‘नौ स’ अभियानजस्ता जनप्रिय र लोककल्याणकारी कार्यक्रम थालनी गरिएको थियो ।

मनमोहनको निधनपश्चात पार्टी केन्द्रीय कमिटीद्वारा गठित मनमोहन स्मृति प्रतिष्ठानको अध्यक्षका रूपमा २०५६ सालयता उनले निरन्तर नेतृत्व प्रदान गर्दै आएका थिए ।

प्रतिष्ठानले मोरङको हात्तीमुढामा मनमोहन पोलिटेक्निक स्थापना र सञ्चालनको नेतृत्व गरिरहेको छ, जो नेपालकै उत्कृष्ट पोलिटेक्निकका रुपमा स्थापित छ ।

प्रतिष्ठानको व्यवस्थित सञ्चालन एवं पोलिटेक्निकको संस्थागत आधार निर्माण र नमूना ढङ्गले सञ्चालनमा उनले महत्वपूर्ण र गतिशील नेतृत्व गरेको मनमोहन स्मृति प्रतिष्ठानका सचिव तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पूर्व कोशी प्रान्तीय कमिटी, नेकपाको तेस्रो राष्ट्रिय महाधिवेशन, केन्द्रीय न्युक्लियस गठन र नेकपा (नमोहन समूह) हुँदै उनी नेकपा (माक्र्सवादी)को उच्च नेतृत्वमा रही निर्दलीय पञ्चायती व्यवस्थाविरूद्धको आन्दोलनमा क्रियाशील रहे ।

उनी विराटनगरमा स्थापित कानुन व्यवसायीका रूपमा समेत सक्रिय थिए । अर्थशास्त्रमा स्नातकोत्तर उनी बौद्धिक राजनीतिज्ञ थिए ।

नेपालको संविधान २०४७ को मस्यौदा गर्न र नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता सम्पन्न गर्न उनको महत्वपूर्ण योगदान रहेको थियो ।

“खासमा बजेटप्रति सर्वसाधारण जनताको चासो र सरोकार सिर्जना गर्ने काम त्यसै बेलादेखि आरम्भ भएको थियो । दुई पटक उपप्रधानमन्त्रीसमेत रहिसक्नुभएका उहाँले चार पटक अर्थ मन्त्रालयसहित अन्य विभिन्न मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको थियो ।”

उपप्रधानमन्त्री पोखरेलले भनेका छन्, “निरन्तर सक्रिय, विनम्र र मिलनसार व्यक्तित्वका रूपमा परिचित उहाँले आफ्नो करीब सात दशक लामो राजनीतिक जीवन कम्युनिष्ट आन्दोलनको विकास, विस्तार र अग्रगतिमा व्यतित गर्नुभयो ।”

प्रकाशित मिति : आइतबार, फाल्गुन १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij